राष्ट्रपति र उप–निर्वाचन कब्जा गर्न कांग्रेसको रणनैतिक निर्णय

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गरेर माघ १५ गते आइतबार बस्ने भनिएको बैठक अनिश्चतकालका लागि स्थगित भएको जनाएका छन् ।

विशेष कारणवस बैठक स्थगित भएको जनाइएको छ । कारण खुलाइएको छैन ।

राष्ट्रपति निर्वाचन र राष्ट्रिय सभाको उप–निर्वाचनबारेमा तयारी गर्नुपर्ने भएपछि बैठक स्थगित भएको एक नेताले बताएका छन् ।

राष्ट्रिय सभाको लुम्बिनी प्रदेशको उप–निर्वाचन हुने कार्यक्रम सार्वजनिक भइसकेको छ ।

कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल वा नेता कृष्णप्रसाद सिटौलामध्ये एक जना उम्मेदवार बन्ने सम्भावना छ ।

लुम्बिनीमा राष्ट्रय सभाको उप–निर्वाचनमा कांग्रेसले रोल्पा कांग्रेसका नेता माधवप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ ।

बुधबार दिउँसो साढे २ बजे प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर आचार्यले मनोनयन दर्ता गरेका छन् । उनको प्रास्तावकमा बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी र समर्थकमा लमही नगरपालिकाका मेयर जोखबहादुर चौधरी रहेका छन् ।
आचार्य रोल्पा कांग्रेसका पूर्व सभापति हुन् ।

उप–निर्वाचनमा एमालेका कुमार दसौदीले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते उप–निर्वाचन हुँदैछ । एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उप–निर्वाचन हुन लागेको छ ।

उप–निर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।

Published : Thursday, 2023 January 26, 4:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया