प्रहरीद्वारा गोरखाकी सीतालाई कलंकीबाट पक्रउ

काठमाडौं । प्रहरीले काठमाडौंमा २७ वर्षीया सीता लामिछानेलाई पक्राउ गरेको छ ।

सीता कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी हुन् । सीता काठमाडौं महानगरपालिका–१४ कलंकीमा बस्दै आएकी थिइन् ।

गोरखाको शहीदलखन गाउँपालिका–९ स्थायी वतन भएकी सीतालाई मंगलबार पक्राउ गरिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सर्वोच्च अदालतको २०७२ फागुन २० गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय ठहर भएपछि सीता फरार रहेकी थिइन् ।

सीतालाई नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कलंकीबाट पक्राउ गरेको जनाएको छ ।

सीताले २०७० मंसिर ७ गते शिशु जन्माई चितवनको पिठुवा माधवपुरस्थित धानखेतको कुलोमा शिशुको शव फालेकी थिइन् ।

वेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको भन्ने कर्तब्य ज्यान मुद्दामा सर्वोच्च अदालतले सीता उपर उक्त फैसला गरेको थियो ।

सीतालाई फैसला कार्यान्वयनको जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

यता, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी रामेछापको रामेछाप नगरपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्ने ३३ वर्षीय शिवहरि खड्कालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७९ मंसिर २० गतेको फैसलाले १४ दिन कैद र ४१ लाख रुपियाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो ।

आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाइ झुक्यानमा पारी २०७८ सालको साउन र भदौ महिनामा दिएको २ थान चेकको रकम भुक्तान हुन नसेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

यसैबीच, प्रहरीले सवारी ज्यान मुद्दाका फरार अभियुक्त सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–१ बस्ने ४२ वर्षीय ईमबहादुर कार्कीलाई घटनाको ९ वर्षपछि मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१५ चारदोबाटोस्थित सडकमा २०७० जेठ २७ गते दिउँसो ओम् हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको बा.३ च ५२७५ नम्बरको एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालक कास्की घर भई भक्तपुर गठ्ठाघर बस्ने ६७ वर्षीय शिवशरण रेग्मीको मृत्यु भएको थियो ।

घटना पश्चात फरार रहेका एम्बुलेन्स चालक कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

Published : Wednesday, 2023 January 25, 7:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया