प्रवीणले रामधुलाई भेट्ने, घाटा खान किन छिरे सुनिल ? साढे ५ करोड खान गिरोह नै सक्रिय

काठमाडौं । दाङको कथित ‘फोर लेन’ सडकलाई विगत ५ वर्षदेखि राजनीतिक दलका नेता, दलाल, भीआईपी र भीभीआईपीहरूको गिरोहले कमाइ खाने ‘भाँडो’ बनाएको छ ।

कुनै ठाउँमा चार लेन, कुनै ठाउँमा दुई लेनको मापदण्ड राखेर आयोजना शुरु गरिएको छ ।

बबई–घोराही–तुलसीपुरसम्मको यो सडक दुई खण्डमा निर्माण गर्ने गरेर भारतको ‘तथ्य ईञ्जिनियरिङ कम्पनी’ले मूल ठेक्का पारेको छ । रोचक त के छ भने ठेक्का लिएको कम्पनी नै भारतमै कालोसूचीमा छ ।

त्यसका मालिक अर्थात ठेकेदार प्रवीणब्रम्हदेव पाण्डेले कमिशन खाँदै पेटीमा ठेक्का लगाउँदै आएका छन् । कुटाइ खाने डरले प्रवीण नेपाल आउँदैनन् । उनले नयाँदिल्ली र मुम्बईमा बोलाएर कमिशन खाएर पेटी ठेक्का दिने गरेका छन् ।

प्रवीणले मोभिलाइजेसनको रकम लिएर मोज गरिसकेका छन् । दुःख दाङका जनताले पाएका छन् ।

तत्कालीन समयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरल थिए । पोखरेलको किचन क्याबिनेको सल्लाहकार ठेकेदार बलिभद्र राना थिए । दाङबाट आधा दर्जनभन्दा धेरै मन्त्रीहरू तत्कालीन समयमा थिए । त्यो बेला पावर हुँदा पोखरेलले माखो मार्न सकेनन् । बरु तुलसीपुर उप–महानगरपालिकाका तत्कालीन मेयर घनश्याम पाण्डेका छोरा अनुप पाण्डेसहितको समूहलाई पेटी ठेक्कामा सहयोग गरे । कुरा यति धेरै बिग्रियो कि अनुप जेलमा थनिनुसम्म पर्‍यो । अहिले त्यही समूह पुनः सलबलाउन थालेको छ ।

बबई–घोराही–तुलसीपुर सडक बनाउनका लागि कुनै पनि नेता र कथित ठेकेदारहरूले भित्रै मनबाट काम गर्न लागेकै होइनन् ।
बबई–घोराही–तुलसीपुर आयोजनामा अहिले नै करीव ३० करोड घाटा छ । पेटी ठेकेदार श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीले काम गरेको करीव साढे ५ करोडको चेक बनेको छ । त्यो रकम पाइपलाइनमा छ । रकम निकालेर खान गिरोहले ठूलै योजना बनाएको छ । त्यो पैसा निकासा भयो भने ती कर्मचारीहरू जेल जाने पक्का छ ।

आयोजनाको काम गर्ने हो भने श्रेष्ठ कन्स्ट्रक्सनले मात्रै गर्न सक्छ । श्रेष्ठ कन्स्ट्रक्सनले हात उठायो भने ठेक्का नै रद्ध गरिदिनुपर्छ ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक चलखेल गरेर आयोजनालाई २०८० सालको असार/साउन महिनासम्मको म्याद थप गरिदिएका छन् ।

भारतीय मूल ठेकेदार तथ्य इञ्जिनियरिङ कम्पनीका मालिक प्रवीणले करीव २५ लाख भारतीय रुपियाँ खाएर श्रेष्ठ कन्स्ट्रक्सनसँगको सम्झौता भङ्ग गरेर सुनिललाई दिएको आरोप छ ।

श्रेष्ठ कन्स्ट्रक्सनले काम गरेको छ । घाटा खाएर पनि श्रेष्ठ कन्स्ट्रक्सनले काम गर्न सक्छ । श्रेष्ठ कन्स्ट्रक्सनको संरचना पनि छ । मेशिनरी सामान पनि छन् । भारतीय ठेकेदार प्रवीणको नियत नै ठीक छैन ।

प्रवीणले श्रेष्ठ कन्स्ट्रक्सनलाई हटाएर बुटवलका ठेकेदार सुनिललाई आधिकारिक प्रतिनिधि बनाएर पेटीको काम गर्न लिखित रुपमा दिए पनि काम हुनेमा विश्वास गर्न लायक छैन ।

सुनिलको समूहले अहिले देखिनै श्रेष्ठ कन्स्ट्रक्सनले पाउनुपर्ने साढे ५ करोड निकासा गर्न दवाव दिइरहेको छ ।

त्यो साढे ५ करोड सुनिलको खातामा निकासा गर्न बलिभद्र, एमाले दाङका केही नेताहरूसहितको समूहले अर्थमन्त्री विष्णु पौडेललाई दवाव दिइरहेको छ । साढे ५ करोड रुपियाँ हत्याउन काठमाडौंमा अड्डा जमाएर उनीहरू बसेका छन् ।

माओवादी केन्द्रबाट दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद रेखा शर्मा र प्रदेशतर्फ नेपाली कांग्रेसका सांसदद्वय राजु खनाल (१) र प्रचण्डबिक्रम न्यौपाने (२) पनि फोर लेन सडकलाई लिएर चिन्तित छन् । शर्मा सञ्चार, सूचना तथा प्रविधि मन्त्री छिन् ।

रेखा, राजु र प्रचण्डबिक्रमले कि श्रेष्ठ कन्स्ट्रक्सनलाई नै बाधा अबरोध हटाउन सहजीकरण गरेर काम गर्न दिनुपर्ने वा भारतीय कम्पनी तथ्य ईन्जिनियरिङसँगको ठेक्का सम्झौता नै रद्द गर्ने पक्षमा छन् ।

बलिभद्रले चार लेनको सडक बनाउँछन् भनेर दाङका जनताले विश्वास नै गरेका छैनन् ।

श्रेष्ठ कन्स्ट्रक्सनले दैनिक करीव ३ लाख जरिवाना तिरिरहेको छ । श्रेष्ठलाई करीव ३० करोड नोक्सानी भइसकेको छ ।

यो देख्दादेख्दै होटेल व्यवसायी सुनिलले किन घाटाको व्यापारमा हात हालेका छन्, रहस्यको विषय छ । सुनिल र बलिभद्रले श्रेष्ठ कन्स्ट्रक्सनको ३० करोड घाटा घरबारी बेचेर तिरिदिने हुन् ? यसको जवाफ दिन सक्छन् ?

आयोजनामा लुकेको कुरा त झन् अर्कै छ । सुनिल र बलिभद्रसहितको समूहले रोडा, ढुंगा, बालुवा र काठ अन्यत्र बिक्री गरेर कमाउने सपना देखेको चर्चा पनि छ ।

आयोजनामा लगानी भारतको एक्जिम बैंकको रहेको छ । यो बैंकको सर्तहरू यति धेरै कडा छन् कि सुनिलले दुई महिनामै ‘तोरीको फूल’ देख्नेछन् । एक्जिम बैंकले चाहेन भने प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री विष्णु पौडेल, भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले सिन्को पनि भाँच्न सक्दैनन् । उनीहरूले प्रवीणको एउटा कपाल पनि हल्लाउन सक्दैनन् । श्रेष्ठ कन्स्ट्रक्सनका मालिक रोशन श्रेष्ठलाई बोलाएर सातो लिए जस्तो सजिलो छैन ।

सुनिल र बलिभद्रको समूहले श्रेष्ठ कन्स्ट्रक्सनसँग निर्माणमा चाहिने डोजर, एक्साभेटरलगायतका मेसिनरी सामान मागेको थियो । श्रेष्ठ कन्स्ट्रक्सनले उनीहरूलाई ती सामान दिएन । बरु सामानहरू अर्को आयोजनमा सार्न थालेको छ ।

श्रेष्ठ कन्स्ट्रक्सनका मेशिनरी सामानहरूमा सुनिल–बलिभद्र लगायतको समूहले स्थानीयलाई उचालेर कब्जा गर्न लगाएको आरोप छ ।

आयोजनामा अनुप पाण्डे, जनक डाँगी, जीवन राना, एकेन्द्र खड्का, विजय पाठक लगायतको नाम जोडिइसकेको छ ।

एकहप्ताभित्र एक्जिम बैंकका प्रतिनिधिसहित सरोकारवालाहरूको काठमाडौंमा बैठक बस्न लागेको छ । त्यो बैठकमा प्रवीणले तोरीको फूल देख्नेछन् ।

Published : Wednesday, 2023 January 25, 2:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया