बानेश्वरमा आफैलाई आगो लगाएका आचार्यको मृत्यु भएको हो ? के भन्छन् कीर्तिपुरका डीएसपी ?

काठमाडौं । कीर्तिपुरस्थित प्रहरी वृत्तले आगोले जलेर गम्भीर घाइते भएका ३७ वर्षीय प्रेमप्रसाद आचार्य ‘सन्तोष’को निधन भएको भन्ने विषयमा अस्पतालले आफूहरूलाई कुनै जानकारी नदिएको जनाएको छ ।

बिहान ११ बजेर २५ मिनटसम्म आचार्यको अवस्थाका गम्भीर रहेको र उपचार भइरहेको जानकारी आफूहरूले पाए पनि थप जानकारी नआएको कीर्तिपुर प्रहरीका प्रमुख (डीएसपी) पुरुषोत्तम पाण्डेले बताएका छन् ।

आचार्यको अवस्था निकै गम्भीर रहेको जानकारी पाएको र चिकित्सकहरूले आफूहरूलाई केही नभनेको डीएसपी पाण्डेले बताएका छन् । उनले भने, ‘परिवारसँगको सरसल्लाहपछि केही भन्नको लागि हो कि प्रेमप्रसाद आचार्यको विषयमा कुनै जानकारी अस्पतालले दिएको छैन ।’

केही सञ्चारमाध्यमले आचार्यको बुधबार बिहान मृत्यु भएको भनेर समाचार लेखेका छन् । सामाजिक सञ्जालमा श्रद्धाञ्जलि लिखिएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले पनि आचार्यको मृत्यु भएको भन्दै फेसबुकबाट श्रद्धाञ्जलि दिएका छन् ।

आचार्यको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

आचार्यको शरीरको ८० प्रतिशतभन्दा बढी भाग आगोले जलेको चिकित्सकहरूले बताएका छन् ।

आचार्यले सामाजिक सञ्जालमा लामो कुरा लेखेर मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएका थिए ।

आचार्यको जन्म २०४३ भदौ १ गते इलाम जिल्लाको सूर्योदय नगरपालिका– ११ फिक्कल, केराबारीमा भएको थियो ।

आफैलाई आगो लगाएपछि तत्काल नजिकै रहेका प्रहरीले उद्दार गरेर आचार्यलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो ।

आचार्यको आइसियुमा राखेर उपचार गरिएको छ ।

आचार्यले व्यापार व्यवसाय गरेका थिए । सामान लगेका व्यापारीले रकम नदिएपछि आर्चाय व्यवसाय डुबेका थिए ।
उनी रोजगारीका लागि गल्फ देशमा पनि गएका थिए ।

आचार्यले फेसबुकमा आफू उद्योगी/व्यवसायी भएको र व्यापार व्यवसायमा जताततै असफलता बेहोरेको उल्लेख गरेका छन् ।

पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, वैदेशिक रोजगारमा जाँदा एवम् उद्योग चलाउँदा भोग्नुपरेका समस्या उल्लेख गरेका छन् ।

आफू डिप्रेसनमा भएको तर, कसैले पनि आफ्नो कुरा स्वीकार नगरेको समेत आचार्यले सामाजिक सञ्जालमा लेखेका छन् ।

Published : Wednesday, 2023 January 25, 11:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया