भारत र नेपालका स्टार्टअपहरूलाई एक ठाउँमा ल्याउन भारतीय राजदूतावासको पहल

काठमाडौं । भारत र नेपालका स्टार्टअपहरूलाई एक ठाउँमा ल्याउन भारतीय राजदूतावास, काठमाडौंले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चसँगको सहकार्यमा ‘भारत–नेपाल स्टार्टअप कनेक्ट’को आयोजना गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मुख्य अतिथि रहेका थिए ।

भारत र नेपालका स्टार्टअपहरूबीच सम्पर्क विस्तार गर्ने उद्देश्यले भारतीय स्वतन्त्रताको ७५ वर्ष र भारत र नेपालबीच कूटनीति सम्बन्ध स्थापना भएको ७५ वर्षको उपलक्ष्यमा सो कार्यक्रमको आयोजना गरिएको हो ।

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भारतले लिएको जी–२० को अध्यक्षता र जी–२० फाइनान्स ट्रयाकमा नेपालको सहभागिताबारे चर्चा गरेका छन् ।

उनले वित्तीय समावेशीकरण र स्टार्टअपमा जाम ट्रिनिटी जस्ता डिजिटल सामाग्रीको महत्वबारे पनि चर्चा गरेका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले डिजिटल नेपालको विषयमा विस्तृतमा जानकारी दिनुका साथै नेपालले आर्थिक वर्ष २०७९/०८० (सन् २०२३) लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्धन वर्षको रुपमा मनाउने तयारी गरेका बारे धारणा राखेका छन् ।

उनले अन्तरदेशीय भुक्तानी कारोबार तथा क्यूआर भुक्तानी कारोबारलाई वित्तीय सहकार्य क्षेत्रको रुपमा पहिचान गर्दै भारत र नेपालबीच वित्तीय तथा प्रविधिको क्षेत्रमा थप सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव बाबुराम गौतमले नेपालमा स्टार्टअप अवसरहरू विषयमा प्रस्तुति दिएका छन् ।

स्टार्टअप इन्डियाका अनुभवकुमार दासले स्टार्टअप इन्डिया स्किम विषयमा प्रस्तुति दिएका छन् ।

सन् २०१६ जनवरी १६ मा सुरु गरिएको यो स्टार्टअप इन्डिया स्किमले भारतमा ४२०० भन्दा बढी स्टार्टअपलाई आफ्नो फन्ड र सीड फन्डमार्फत सहयोग गरेको छ ।

सरकार, नियामक र उद्योगको सहयोगमा भारतमा फिनटेक क्षेत्र कसरी विकसित भएको छभन्ने बारे पान्नेयबीका प्रमुख कार्यकारी अधिकृत आनन्द बजाजले जानकारी दिएका छन् ।

पहिलो चरणको छलफल भारत र नेपालबीच ई–कमर्श र फिनटेक क्षेत्रमा अवसरहरूबारे केन्द्रित थियो । प्रमुख कार्यकारी अधिकृत अमुन थापाले सहकार्यका बारेमा बताएका छन् ।

एफ वान सोफ्टका अध्यक्ष विश्वास ढकालले फोनपे र ई–सेवाको भुक्तानी सेवाहरूबारे जानकारी दिएका छन् ।

टुटलका प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले ई–कमर्श, लजिस्टिक तथा डिजिटल भुक्तानीले कसरी एकसाथ काम गर्छ भन्नेबारे प्रस्तुति दिएका छन् ।

भारतीय फिनटेक कम्पनी लिभरज ईडीयुका अक्षय चतुर्वेदीले नेपाली बजारमा आफ्नो कम्पनीले गरेको विस्तारबारे जानकारी दिएका छन् ।

दोस्रो चरणको छलफल नेपाली स्टार्टअपका लागि फन्डिङ्ग अवसरहरूबारे केन्द्रित थियो ।

टिम भेन्चरका प्रमुख कार्यकारी अधिकृत तेन्जिङ्ग गोन्सारले नेपाली फन्डिङ्ग इकोसिस्टमबारे जानकारी दिए ।

Published : Tuesday, 2023 January 24, 9:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया