लक्ष्मी महतोको बारेमा एमालेको यस्तो आयो प्रतिक्रिया

काठमाडौं । एमालेका सांसद एवम् नेता रघुवीर महासेठले हत्या आरोपमा पक्राउ पुर्जी जारी भएका एमालेका सांसद लक्ष्मी कोइरी महतोको बचाउ गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा उनले कोइरीको बचाउ गरेका हुन् ।

‘अहिले देशमा एउटै चर्चा छ । माननीय लक्ष्मी कोइरी महतोको’, उनले भने, ‘यी प्रतिनिधि सभामा हाम्रा केही माननीयज्यूहरूले लक्ष्मी महतोज्यूको बारेमा धेरै कुरा उठाउनुभयो ।’

उनले भने, ‘अपराधी भन्ने शब्द पनि सम्बोधन गर्नुभयो । उहाँ यही सदनमा हुनुहुन्छ । उहाँलाई प्रहरी प्रशासनले किन समातेन ?’
‘यस्ता कुराहरू पनि उठाउने काम भयो । के साँच्चिनै लक्ष्मी महतो अपराधी नै हुन त ?’, एमालेका नेता महासेठले प्रश्न गर्दै भने, ‘यदि अपराधी हो भने वर्तमान सरकार लक्ष्मी महतोजीलाई यो देशको सम्मानित र प्रतिष्ठित पदक समाजसेवी पदकबाट उहाँलाई सिफारिस गरेर निवर्तमान सरकारले दिने काम नर्गुभयो । उहाँहरूले किन गर्नुभयो ?’

उनले भने, ‘अहिलेको भन्दा अगाडिको निवर्तमान सरकारले लक्ष्मी महतोलाई सात वर्षभन्दा धेरै भयो सशस्त्र प्रहरीका असईको हत्या भयो । सात वर्षमा तीन वर्ष यताका सरकारले किन समात्न सकेन ।’

‘लक्ष्मी महतोलाई सम्मान गरेर राष्ट्रपतिबाट पदक दिइएको छ’, उनले भने, ‘लक्ष्मी महतो हाम्रो सम्पर्कमा हुनुहुन्न । प्रहरी प्रशासनले हिरासतमा लिएको छ भने सार्वजनिक गर्नुपर्‍यो ।’

‘एमाले र एमालेका नेताहरूमाथि लगाइएको आरोपमा सत्यता छैन’, उनले भने, ‘गृह मन्त्रालयलाई भन्न चाहन्छु । उहाँलाई समात्नु छभने समात्नुस् ।’

उनले भने, ‘एमालेका नेताहरूबाट लक्ष्मी महतोलाई कारबाही गर्दा कुनै बाधा अबरोध आउनेछैन । अहिलेसम्म अदालतले दोषी भनेको छैन । थुनामा राखेर कारबाही अगाडि बढाउन अदालतले भनेको छ ।’

एमालेले आफ्ना सांसद महतोको बचाउ गर्दै कारबाही गरेर देखाउन चेतावनी गृह प्रशासनलाई दिएको छ ।

Published : Tuesday, 2023 January 24, 4:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया