निशानामा पास बाड्ने विमानस्थलका ओझा र घिमिरे, पक्राउ परेका चुडाललाई चालकसहितको गाडी सुविधा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पास वितरण शाखामा आठ तहका दीपक ओझा र गोपालप्रसाद घिमिरेले अड्डा जमाएर बसेका छन् ।

ओझा र घिमिरेले पनि पास वितरणमा हैरान बनाएको गुनासाहरू पर्ने गरेका छन् । जिम्मेवारी लिएको व्यक्तिले जनतालाई सहज रुपमा सेवा दिनुपर्छ । तर, विभिन्न विषयमा दवाव दिएपछि गुनासाहरू आएका हुन् ।

ओझा र घिमिरेको पद सिनियर एयर ट्राफिक कन्ट्रोलर हो । ओझा करीव १५ वर्षदेखि निरन्तर सोही ठाउँमा कब्जा गरेर बसेको उच्च स्रोतले जनाएको छ । ओझालाई सरुवा गर्न खोज्दा राजनीतिक, प्रशासनिक, आर्थिक सबै शक्ति एकसाथ लगाएर बस्ने गरेको आरोप कर्मचारीहरूकै छ ।

घिमिरे भने १ वर्ष अगाडि सो पदमा आएका हुन् । ओझा र घिमिरेले नै पास वितरण गर्छन् । ओझा र घिमिरेलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संरक्षण गरेर राखेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर पनि ओझा र घिमिरेसँग मिलोमतोमा रहेको चर्चा छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, आन्तरिक टर्मिनल ब्यवस्थापन शाखा गौचर काठमाडौंका ब्यवस्थापन शाखा प्रमुख प्रबन्धक (नवौं तह) पूर्णप्रसाद चुडाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार घुस/रिसवतको १ लाख ५० हजार तथा स्रोत नखुलेको ८ लाख रुपियाँसहित नियन्त्रणमा लिएपछि पास वितरण शाखाहरूमा गम्भीर प्रश्न उठेको हो ।

नवौं तहका चुडाललाई प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले चालकसहित गाडीको सुविधा दिएर राखेका थिए । अब भन्नुस् घुससहित पक्राउ परेका चुडाल र अधिकारी तथा महाप्रबन्धक प्रेमनाथ ठाकुरको सम्बन्ध के थियो होला ? नवौँ तहको कर्मचारीले चालकसहितको गाडी सुविधा पाउँदैनन् ।

ओझा र घिमिरेले पनि पास वितरण गर्छन् । चुडाललाई पक्राउ गरेपछि अख्तियारले ओझा र घिमिरेलाई पनि नजर लगाउन सक्छ ।

चुडालले पास वितरण र नवीकरणमा अबैध रुपमा रकम उठाएर प्राधिकरणका महानिर्देशक अधिकारी र विमानस्थलका महाप्रबन्धक ठाकुरलाई पनि बुझाउने गरेको आरोप छ । पक्राउ परेका चुडालले महानिर्देशक अधिकारी र महाप्रबन्धक ठाकुरलाई बचाउँछन् या सफाइ दिन पहल गर्छन् अख्तियारको अनुसन्धानमा भर पर्नेछ ।

यसअघि, प्याराग्लाइडिङको अनुमति प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखाका उप–सचिव प्रमोद नेपाल घुसको रकमसहित पक्राउ परेका थिए । नेपालको साथबाट अख्तियारको टोलीले २२ लाख ५० हजार बरामद गरेको थियो ।

उप–सचिव नेपालले प्राधिकरणका महानिर्देशक अधिकारीको नाम लिएनन् । अधिकारीसँगको मिलोमतोमा लाइसेन्सको कुरा अगाडि बढेको आरोप लागे पनि सो प्रकरणमा अधिकारी बचेका छन् ।

विमानस्थलका चुडाल पनि घुसको रकमसहित पक्राउ परेपछि प्राधिकरणको नेतृत्व र प्राधिकरणभित्र कति भ्रष्टाचार र अनियमितता छ भन्ने कुरा प्रष्ट बनाएको छ । विमानस्थलभित्र रहेका प्राधिकरणका कर्मचारीहरूको बोली यति रुखो छ कि सर्वसाधारण दिक्क छन् ।

आरोपहरूका बारेमा प्रतिक्रिया लिन प्राधिकरणको कार्यालयको फोनमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Published : Tuesday, 2023 January 24, 10:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया