खेलकुद मन्त्रालय सांसदको नजरमा नपर्नु चिन्ताको विषय : कांग्रेस सांसद महर्जन

काठमाडौं । बागमती प्रदेशका सांसद एवम् नेपाली कांग्रेसका नेता मीनकृष्ण महर्जनले ‘युवा तथा खेलकुद मन्त्रालय’लाई दलहरूले हेला गरेको भन्दै चिन्ता जनाएका छन् ।

बिहीबार बिहान प्रदेश सांसद मर्जनले सामाजिक सञ्जालमार्फत दल र सांसदहरूको नजरमा खेलकुद मन्त्रालय नजरमा नपरेको भन्दै चिन्ता जनाएका हुन् ।

खेल क्षेत्रलाई राजनीतिक नेतृत्वले उपेक्षा गरेका कारण धेरै खेलाडीहरू जीविकोपार्जन र सामाजिक सुरक्षाका लागि विदेश पलायन हुने गरेको उनले उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘सांसदहरूको युवा तथा खेलकुद मन्त्रीमा नजर परेन । त्यसै खेलाडी विदेश पलाएन भएको होइन ।’

खेलकुद पृष्ठभूमिका कांग्रेस नेता महर्जन खेलकुद क्षेत्रको संरक्षणका लागि आफूलाई केन्द्रित बनाउँदै आएका छन् ।

सांसद समेत रहेका महर्जनले बागमती प्रदेश सभा र सरकारमा खेलकुदको विकास तथा खेलाडी, प्रशिक्षक तथा खेलसँग सम्बन्धितहरूको उन्नति, प्रगतिका लागि पहल लिने बताउँदै आएका छन् ।

बागमती प्रदेशको सांसदमा ललितपुर १ (२)बाट निर्वाचित भएका महर्जन राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष पनि हुन् ।

Published : Thursday, 2023 January 19, 9:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया