लामो समयपछि पल शाहलाई अदालतले न्याय दियो

काठमाडौं । नायक पल शाह (पूर्णबिक्रम शाह)लाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ ।
बलत्कारको मुद्दामा शाहले सफाइ पाएका हुन् । पेशी तोकेर स्थगन हुँदै आएको मुद्धामा मंगलबार सुनुवाईका क्रममा अदालतले शाहलाई सफाइ दिएको छ ।
बलत्कार गरेको मुद्दामा दाबी नपुगेकोले निर्दाेष रहेको ठहर गर्दै अदालतको ३ नम्बर इजलासका न्यायाधीश कमलप्रसाद आचार्यको इजालसले शाहलाई सफाइ दिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिएका छन् ।
नायक शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो ।
नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बालयौन दुरव्यवहारको अभियोगमा भने साढे दुई वर्षको कैद सजाय तोकेको छ ।
फागुन ११ गते बालिकाका बुवाले आफ्नी छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए ।
शाह फागुन १५ गते प्रहरी कार्यालयमा आफै सम्पर्कमा आएका थिए ।
पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडितले बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ ।
तनहुँ जिल्ला अदालतले निर्दोष सावित गरेर फैसला गरेपनि नवलपुरको फैसलाको कारणले गर्दा नायक शाह कारागारमा नै बस्नुपर्नेछ ।
नवलपुर अदालतको फैसलाविरुद्ध पनि कलाकार शाहले उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया