झापा र रुपन्देहीका दुई अपराध, अपराधीहरू भाग्न पाएनन्

काठमाडौं । झापामा आफ्नै श्रीमती ३६ वर्षीया प्रमिला भुजेल घिसिङको हत्या गरेको अभियोगमा ३५ वर्षीय विश्वराज घिसिङ पक्राउ गरेका छन् ।

अर्जुनधारा नगरपालिका–९ खरबन्दी डेरा गरी बस्ने भोजपुरको अरुण गाउँपालिका–१ घर भएका विश्वराज घिसिङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

विश्वराजले खाना नपकाएको कारण झै–झगडा गरी आफ्नै श्रीमतीलाई लात्ती हान्दा घटनास्थलमै मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हत्याको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले विश्वराज घिसिङलाई पक्राउ गरेको छ ।
हत्याको घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यता, रुपन्देहीको मायादेवी गाउँपालिका–७ बस्ने भीमबहादुर यादवको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा हाटी बनगाई भौजा भहुआरे घर भएका ३९ वर्षीय जितई भर भन्ने जितेन्द्रराज भरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

२०६१ वैशाख २८ गते राति यादवलाई कुटपिट तथा छुरा समेत प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले कास्की पोखरा महानगरपालिका–२६ बुढीबजारबाट पक्राउ गरेको हो ।

यसैगरी रूपन्देहीको मझगावा बस्ने ईस्लाम धोबीको छोरा १२ वर्षीय मक्सुद आलम धोबीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा रूपन्देहीकै कोटहीमाई गाउँपालिका–३ मझगवा बस्ने ५० वर्षीय नबिमोहमद चुरिहारलाई मंगलबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

रुपन्देही साविक बोगटी गाविस–८ भगैयास्थित खेतको पानी पोखरीमा २०७३ असार १५ गते मक्सुदको डुबेर मृत्यु भएको घटनाको थप अनुसन्धानको क्रममा घटनामा संलग्न चुरिहारलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले कोटहीमाई गाउँपालिका–३ मझगवाबाट फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको छ ।

Published : Wednesday, 2023 January 11, 9:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया