‘केजीएफ’बाट यशलाई रिप्लेस गर्ने तयारी, अब तेस्रो भाग रिलिज हुने

मुम्बई । भारतीय फिल्म ‘केजीएफ’को तेस्रो सिक्वेल छिटै रिलिज गर्ने तयारी भएको छ ।

सन् २०२५ भित्रै केजीएफको तेस्रो सिक्वेललाई निर्माण कम्पनी होम्बले फिल्म्सले केजीएफको तेस्रो भाग रिलिज गर्ने जनाएको छ ।

‘केजीएफ’ अभिनेता यशको जन्मदिन पारेर फ्रिल्मको प्रदर्शन मिति बाहिर ल्याएको छ ।

होम्बले फिल्म्सका संस्थापक विजय किरांगन्दुरले केजीएफको तेस्रो भाग २०२५ सम्ममा रिलिज गर्ने बताएका छन् ।

फिल्मका निर्देशक प्रशान्त नील फिल्म ‘सालार’को निर्माणमा व्यस्त छन् । त्यसपछि उनले ‘केजीएफ ३’ को काम सुरु गर्नेछन् ।

विजयले केजीएफलाई पाँच भागमा बनाउने र पाँचौं भागपछि मुख्य नायकलाई रिप्लेस गर्ने सम्भावना पनि रहेको बताएका छन् ।

आगामी दिनमा यशबाहेक अरु कोही फिल्मको मुख्य नायक रकी भाइको भूमिकामा देखिने पनि विजयले बताए ।

‘जेम्स बन्ड’ सिरिजमा जसरी मुख्य नायक परिवर्तन भइरहन्छ, त्यसैगरी पाँचौँ भागपछि अर्को कलाकार रकी भाइको भूमिकामा देखिन सक्ने उनको भनाइ छ ।

यशले केजीएफ गर्नुअघि ९ वटा फिल्ममा काम गरिसकेका थिए । सन् २०१८ को फिल्म केजीएफबाट उनले वास्तविक पहिचान पाएका थिए ।

केजीएफ फिल्मले उनलाई सुपरस्टार बनाएको छ । उनको चरित्र रकी भाइले दर्शकको मनमा राज गर्न थाल्यो ।

फिल्मले २५० करोड भारतीय रुपियाँको कमाई गरेको थियो । यो फिल्मसँगै दक्षिण भारतीय फिल्मले देशभर पहिचान पाएको छ ।

यसपछि सन् २०२२ मा आएको ‘केजीएफ च्याप्टर–२’ ले यशलाई विश्वव्यापी लोकप्रियता दिएको छ ।

१ सय करोड भारतीय रुपियाँमा बनेको यो फिल्मले विश्वभर १ हजार २ सय करोड भारतीय रुपियाँको कमाई गरेको थियो ।

फिल्म भारतको विश्वभर सबैभन्दा धेरै कमाउने फिल्महरूमा तेस्रो नम्बरमा र भारतमा सबैभन्दा धेरै कमाउने दोस्रो नम्बरमा छ । एजेन्सी

Published : Monday, 2023 January 9, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया