कांग्रेसलाई दुई वर्ष पनि प्रतिपक्षमा बस्नु नपर्ला : मोहन बस्नेत (अन्तर्वार्ता)

मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

प्रचण्ड नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले विश्वासको मत दिन्छ ? वा के गर्छ ?

कांग्रेस प्रमुख प्रतिपक्षमा बस्छ । कांग्रेस मात्रै होइन, अरु राजनीतिक दलहरू पनि के गर्ने भनेर अन्यौलमा छन् । विश्वासको मत पाउने पक्का छ भन्ने स्थिति पनि छैन । पाउँदैन भन्ने स्थिति पनि छैन । गञ्जागोलको स्थिति छ । प्रधानमन्त्रीज्यू अलिक झस्किएर बस्नुभएको छ ।

सरकारमा जान खोजिएका पार्टीको नेता कार्यकर्ता, शुभेच्छुक, समर्थकहरूले धैरै गालीगलौज गर्न थालेका छन् । रवि लामिछानेजीलाई सरकारमा भाग लियो भनेर उहाँका समर्थकले गाली गरिरहेका छन् । राप्रपाले पनि भाग लेलान् भनेर उहाँहरूको समर्थकले गाली गरिरहेका छन् । राप्रपाभित्र विवाद छ ।

उपेन्द्र यादवजीको समूहभित्र पनि विवाद भइरहेको छ । रेशम चौधरीको पार्टीले पनि सरकारमा जान सर्तहरू राखेको छ । सर्त राख्ने कुरा सबै पार्टीका छन् । मन्त्रालय र संवैधानिक अर्थत माथिल्लो तहका पदको बाँडफाँडको कुरा पनि मिलेको छैन ।

कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने नै हो । कांग्रेस मात्रै होइन, को–को पक्ष ? को–को विपक्ष भन्ने कुरा पुस २६ गते नआइकन टुंगो लाग्दैन । २६ गते पनि सरकार पहिला बनाउने कि विश्वासको मत पहिला लिने भन्ने कुरामा ठूलो लफडा भयो । सरकार बनाउने बेला झुक्काएर गर्लान् । पहिला मागे जति सबै दिन्छु भन्ने । पछि नदेलान् भन्ने डर पनि छ ।

विश्वासको मत पहिला लियो । सरकार पछि बन्ने भयो रे ! सरकार त बन्नुपर्छ । केही नभए पनि विश्वासको मत लिएको २/३ हप्ताभित्र बनाउलान् । त्यो बनाउने बेला कसैको कुरै मिल्दैन । नमिलेपछि त्यहीँ दुर्घटना हुने सम्भावना हुन्छ । भोलिका दिनमा बिल के गरेर पास गर्ने ? बजेट अधिवेशनका बेला बजेट कसरी पास गर्ने ?

कांग्रेसले प्रचण्डको सरकारलाई ढाल्ने गतिविधि गरेको आरोपसहितका कुरा आएका छन् त्यस्तो हो र ?

सबैले आ–आफ्नो अनुकूलको सरकार बनाउन खोज्छ भने कांग्रेसले पनि आफ्नो तरिकाले आफू अनुकूलको सरकार बनाउन खोज्ने कुराको के आश्चर्य भयो र ?

कांग्रेसलाई सरकार बनाउन कुन–कुन दलले सहयोग गर्न सक्छन् ?

अहिले विभिन्न दलहरूसँग छलफल भइरहेको छ । कुराकानी भइरहेको छ । राप्रपा, जसपा, एकीकृत समाजवादीसँग कुरा भइरहेको छ । अरु स्वतन्त्र र साना पार्टीहरूसँग पनि कुरा भइरहेको छ ।

एमाले र माओवादीबीच शक्ति बाँडफाँडमा कुरा मिल्न सकेन भने कांग्रेसले प्रचण्डलाई विश्वासको मत लिएर जान सक्ने अवस्था छ कि छैन ?

त्यस्तो अवस्थामा प्रचण्डलाई समर्थन गर्ने दोस्रो प्राथमिकतामा रहन्छ । पहिलो प्राथमिकता अरुलाई नै गर्ने हुन्छ नि ! किन भने प्रचण्डजी कांग्रेसलाई छाडेर उता जानुभएको हो नि !

कांग्रेसभित्र सरकार गठनलाई लिएर दुई/तीन वटा समूह देखिएका छन् । कांग्रेसभित्रै कुरा मिलेको छैन । कसरी कांग्रेसले सरकार बनाउन सक्छ ?

कांग्रेस प्रजातान्त्रिक पार्टी हो । कांग्रेसभित्र जुन पनि नेताको कुरा काट्न पाइन्छ । आफ्ना कुरा राख्न पाइन्छ । कम्युनिस्ट पार्टीमा त्यस्तो हुनेवित्तिकै भीम रावलजीको जस्तो हाल भइहाल्छ । हामीभित्र कुरा गर्न पाइन्छ । कुरा गरिरहेको हो । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसेर प्रधानमन्त्री र राष्ट्रपति हामीले ठूलो दलको हैसियतमा छाड्नु हुँदैन भन्ने निर्णय भएको हो । प्रधानमन्त्री आलोपालो गर्ने पद हो । अरु ठूला पदहरू बाँडफाँड र भागबण्डाको कुरा भयो । ठूलो पार्टीको हैसियतले राष्ट्रपति लिनुपर्छ भनेर कांग्रेसले निर्णय गरेको छ । ठूलो पार्टीको हैसियतले प्रधानमन्त्री हामीले दाबी गर्नुपर्छ भनेर कार्यसम्पादन समितिले निर्णय गरेको छ ।

कार्यसम्पादन समितिभित्र सबै खाले गुट, उप–गुट त्यहिँ हुनुहुन्छ । आफ्नो विचार राख्ने कुरा एउटा भयो । तर्क राख्ने कुरा एउटा भयो । अन्तिम निर्णय गर्दा पार्टीको बैधानिकस्तरबाट निर्णय भएको छ । कसरी जानेभन्ने विषयमा पार्टीका पदाधिकारीका बीचमा छलफल भइरहेको छ । अरु नेताहरूलाई पनि सभापतिज्यूले बोलाएर छलफल गरिरहनुभएको छ । भोलिका दिनमा कोसँग जाने ? कसलाई समर्थन गर्ने ? कसलाई नगर्ने ? वा आफ्नो नेतृत्वमा बनाउन सक्ने बेला आएमा आफै बनाउने भन्ने कुरामा कांग्रेसको विधिवत् निर्णय हुन्छ । विवाद हुँदैन ।

पुस २६ गते प्रचण्ड सरकारले विश्वासको मत पायो भने कांग्रेस ५ वर्षसम्म प्रतिपक्षमा बस्ने भयो होइन त ?

कांग्रेस जति वर्ष पनि प्रतिपक्षमा बस्न तयार छ । पहिला पनि बस्दै आएको हो । यसमा कुनै अनौठो कुरा भएन । संकोच मान्नुपर्ने कुरा पनि छैन । कांग्रेस दुई वर्ष प्रतिपक्षमा बस्ने बेला नै आउँदैन । ५ वर्ष त होइन, २ वर्ष पनि प्रतिपक्षमा बस्ने बेला आउँछ कि आउँदैन थाहा छैन ।

आविश्वासको प्रस्ताव दुई वर्षसम्म लैजान नपाइने हो । प्रधानमन्त्री प्रचण्डज्यूले जे दिन्छु भनेर लैजानुभएको छ त्यो दिनुभएन भने के होला ? वा संसदमा विधेयकहरू पास गर्नुपर्ला ? बजेट अधिवेशन आउला । सरकारको नीति तथा कार्यक्रम पास गर्नुपर्ला ? असहयोग भयो भने के होला ?

प्रस्तुति : विमल योगी

Published : Sunday, 2023 January 8, 1:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया