विश्वकप फुटवलमा महारथी टिम ढल्यो, अर्को महारथी बालबाल बच्यो

काठमाडौं । विश्वकप फुटबलमा क्रोएसिया र अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको हो ।

कतारको एजुकेशन सिटी स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएको थियो ।

गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको छ ।

पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे ।

ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे भने रोड्रिगो र मार्क्न्हिोस पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

शुक्रबार राति नै भएको अर्को खेलमा अर्जेन्टिना नेदरल्यान्ड्सलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा समेत २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

अर्जेन्टिनाका लियोनल मेस्सी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरेका थिए । एन्जो फर्नान्डेज पेनाल्टीमा चुकेका थिए ।

पेनाल्टीमा नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गरेका छन् ।

भिर्गिल भान डाइक र स्टिभन बेर्घुइस पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

महारथी ब्राजिललाई हराएको क्रोएसियासँग अर्जेन्टिनाले सेमिफाइनलमा सामना गर्नुपर्नेछ ।

Published : Saturday, 2022 December 10, 9:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया