शक्तिशाली त्रिपाठीलाई ढालेका विनोद चौधरीको क्षमतालाई कांग्रेसले किन सदुपयोग नगर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नवनिर्वाचित प्रतिनिधि सभाका सांसद विनोदकुमार चौधरी अर्थ व्यवस्थाका जानकार मानिन्छन् ।

कुटनीति, राजनीति र आर्थिक क्षेत्रमा चौधरीको राम्रो पकड छ । कांग्रेसले चौधरीको सोही क्षमता बुझेर नै नवलपरासी १ बाट प्रतिनिधि सभामा टिकट दियो ।

चौधरीले कांग्रेसको विश्वासलाई खेर जान दिएनन् । उनले २९ हजार ५ सय १९ मतका साथ शानदार जित पनि हासिल गरेका छन् ।

चौधरीले एमालेको समर्थन पाएका जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयश त्रिपाठीलाई पराजित गरेका हुन् । त्रिपाठीले जम्मा २२ हजार ३ सय २८ मत पाए ।

नवलपरासीबाट त्रिपाठीले ४ पटकसम्म प्रतिनिधि सभामा निर्वाचित भएका थिए । त्रिपाठी जस्तो व्यक्तिलाई हराउनु चौधरीका लागि सहज थिएन । पार्टीभित्रका साथीहरूलाई मिलाएर चौधरीले जित निकालेका हुन् ।

यस पटक कांग्रेसका चौधरीले कम्युनिस्ट पृष्ठभूमिका त्रिपाठीलाई राजनीतिक यात्रामा ब्रेक लगाइदिएका छन् । पटक–पटक मन्त्री बनेका त्रिपाठी कमजोर थिएनन् ।

कांग्रेसले केन्द्रीय सदस्य एवम् उद्योगी, व्यवसायी समेत रहेका बौद्धिक व्यक्तित्व चौधरीलाई टिकट दिएर नवलपरासीमा चारतारे झण्डा गाड्न सफल भएको छ ।

आगामी सरकारको नेतृत्व कांग्रेसले गर्ने सम्भावना छ । सरकारमा चौधरीलाई उपयुक्त मन्त्रालयको जिम्मेवारी दिने हो भने अर्थ व्यवस्थामा ठूलो टेवा पुग्नेछ ।

चौधरी ग्रुपका अध्यक्ष समेत रहेका उनलाई मुलुकको अर्थतन्त्र कसरी माथि उकास्ने र अयातमा भन्दा पनि निर्यातमा काम कसरी गर्नेभन्ने विषयमा जानकारी छ ।

छिमेकी राष्ट्रहरूसँग पनि चौधरीको राम्रो सम्बन्ध छ । उनलाई अर्थ, परराष्ट्र वा उद्योग, वाणिज्य तथा आपूर्तिमध्येका जुन मन्त्रालय दिए पनि सहज रुपमा चलाउन सक्छन् ।

विशेष गरेर चौधरीलाई अर्थ मन्त्रालय दिने हो भने कमजोर अर्थ व्यवस्थालाई माथि उकास्न सक्ने क्षमता रहेको अर्थ विज्ञहरूको भनाइ छ । चौधरीले व्यवसायमा गरेको प्रगतिको क्षमतालाई अवसरका रुपमा कांग्रेसले प्रयोग गर्नुपर्ने चर्चा हुन थालेका छन् ।

उद्योगी व्यवसायीहरूको योगदान र सहयोगकै कारण मुलुकको अर्थतन्त्र सुधार हुने हो । त्यो कुरा चौधरीलाई राम्रोसँग जानकारी छ ।

अहिलेसम्मका अर्थ मन्त्रीहरूले गरेका काम सकारात्मक र राम्रा भए पनि निजी क्षेत्रको व्यक्तिले अर्थ मन्त्रालय चलाउँदा त्यसको प्रभाव निकै राम्रो हुने विज्ञहरूको भनाइ छ ।

Published : Thursday, 2022 December 8, 12:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया