सशस्त्र प्रहरीको ककनी तालिम केन्द्रले मनायो स्थापना दिवस

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीले ११औँ स्थापना दिवस मनाएको छ ।

बुधबार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलको प्रमुख आतिथ्यमा दिवस मनाइएको हो ।

सशस्त्र प्रहरी बल, नेपालमा रहेका स्थायी इकाईहरूको यसै वर्षदेखि स्थापना दिवस मनाउने संगठनको नीतिअनुसार सो तालिम शिक्षालयको स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले यस्ता किसिमका कार्यले सशस्त्र प्रहरी बल, नेपालका इकाईहरूमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीको मनोवल उच्च बनाउन तथा सामूहिक भावनाको विकासमा समेत सघाउ पुग्ने बताएका छन् ।

पौडेलले सो शिक्षालयमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी, तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र शाह तथा प्रशिक्षण प्रतिष्ठानका सह–निर्देशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिनाले शिक्षालयमा आयोजना गरिएको विविध खेलकुद बिद्यामा प्रथम भएका सशस्त्र प्रहरी कर्मचारी तथा समूहलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन् ।

सो अवसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, नुवाकोटका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र शाहले धन्यवाद ज्ञापन गरेका छन् ।

उनले तालिम शिक्षालयले सीमित श्रोत साधनको बावजुद मिसन एरियामा परिचालन हुने सशस्त्र प्रहरी कर्मचारीलाई उच्चस्तरको तालिम प्रदान गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

करीब दुई दशकदेखि संयुक्त राष्ट्र संघको अनुरोधमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थानार्थ परिचालन हुने जनशक्तिलाई प्रशिक्षण प्रदान गरी पेशागत क्षमता र दक्षता अभिबृद्धि गर्ने उद्देश्यले बि.सं. २०६८ साल मंसिर २२ गते सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम केन्द्रको रुपमा स्थापना भई बि. सं. २०७५ साल साउन १३ गते सशस्त्र प्रहरी बल, नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय नामाकरण गरिएको हो ।

Published : Wednesday, 2022 December 7, 8:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया