२१ वर्षीया मायाका हत्यारा पत्ता लाग्यो, चक्कु भाँच्चिएपछि भागे

काठमाडौं । बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ को फेउलीकी २० वर्षीया माया लुहारको हत्या गरेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीले सोमबार पत्रकार सम्मेलन गरेर शिवनाथ गाउँपालिका–४ सोल्पलाका २२ वर्षीय भरतराम कोलीलाई सार्वजनिक गरेको हो । कोलीलाई प्रहरीले आइतबार महेन्द्रनगरबाट पक्राउ गरेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखरामा कार्यरत सशस्त्र प्रहरी जवान कोलीले मायालाई चक्कु प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी प्रेमबहादुर शाहीले अभियुक्तले मृतक माया आफूबाहेक अरुसँग पनि प्रेम सम्बन्धमा रहेको शंका गरेपछि उनीहरूबीच विवाद भएको थियो । सोही कारण कोलीले मायाको हत्या गरेको खुलेको छ ।

हत्याको घटनाबारे अरुले थाहा पाउने आशंकामा मायासँगै रहेकी भतिजी नाता पर्ने १५ वर्षीया नेहा लुहारलाई पनि चक्कु प्रहार गरेको कोलीले बयान दिएको डीएसपी शाहीले बताएका छन् ।

चक्कु प्रहारबाट लुहार घाइते छिन् । उनको उपचार भइरहेको छ । भरतराम र मायाबीच फेसबुकबाट चिनजान भएको थियो ।

फेसबुकबाट कुराकानी गर्दै जाँदा उनीसँग प्रेम भएको र आफू ७ मंसिरमा घरविदामा आएका बेला भेट भएको कोलीले बयान दिएका छन् ।

मंसिर ११ गते उनीहरूबीच पञ्चेश्वर गाउँपालिका–४ आमचोरामा भेटेको थियो । भेटका बेला मायाको फोन आएपछि नउठाएर गोजीमा हालेपछि भरतले शंका गरेका थिए ।

कोलीले को हो भनेर मायासँग सोधेका थिए । जवाफ नदिएपछि सशस्त्र प्रहरीका जवान कोलीले मोवाइल खोसेर आफूसँगै राखेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

मंसिर ११ र १२ गते मायाको मोबाइल आफूसँग राखेका कोलीले मंसिर १३ गते मायालाई मोवाइल लिन शिवनाथ गाउँपालिका–६ को ओल्याओखडानी ठूलो खोला सामुदायिक वनमा बोलाएका थिए ।

उनीसँगै आएकी भतिजी नाता पर्ने नेहालाई अलग्गै राखेर एक्लाएक्लै भेटेपछि विवाद भएको र आफूले हत्या गरेको कोलीले स्वीकार गरेको प्रहरीको भनाइ छ ।

मायाको हत्यापछि कोलीले भतिजी नेहामाथि पनि चक्कु प्रहार गरेका थिए । नेहाले प्रतिकार गर्दा चक्कु भाँचिएपछि उनी भागेको कोलीले प्रहरीसमक्ष बताएका छन् । नेहाको घाँटीमा चोट लागेको छ ।

घटनापछि राति घर गएर सुतेका कोली मंसिर १४ गते बसमा चढेर डडेल्धुरा गएका थिए । कोली तीन दिनसम्म बागबजारस्थित एउटा होटलमा बसेका थिए ।

मंसिर १७ गते बिहान मात्र डडेल्धुराबाट अत्तरिया पुगेका थिए । मंसिर १८ गते बिहान कोली महेन्द्रनगर बजार पुगेका थिए ।

भारत जाने योजनाअनुसार उनी महेन्द्रनगर पुगेका प्रहरीको भनाइ छ । मायाका दाजु टीकुराम लुहारले दिएको किटानी जाहेरी दिएपछि प्रहरीले कोलीलाई पक्राउ गरेर ज्यानसम्बन्धी कसूर शीर्षकमा अनुसन्धान गरिरहेको छ ।

यसैबीच, मायाका हत्या आरोपी सशस्त्र प्रहरीका जवान कोलीलाई बैतडी प्रहरीले सोमबार जिल्ला अदालतमा पेश गरेको छ ।

कडा सुरक्षाकाबीच उनलाई जिल्ला अदालत बैतडी पुर्‍याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी शाहीले अदालतबाट १० दिन म्याद थपेर घटनाको थप अनुसन्धान सुरु गरिएको बताएका छन् ।

अनुसन्धान अधिकृतसहितको टोलीले कोलीलाई घेरेर अदालत लगेका थिए । कोली मास्क लगाएर बीचमा हिडिरहेका थिए ।

* (समाचारमा आरोपी भरतराम कोलीको तस्वीर राख्नुपर्नेमा अन्य व्यक्तिको तस्वीर पर्न गएकोमा सच्याउँदै क्षमापर्थी छौं ।)

Published : Monday, 2022 December 5, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया