गोरखाका आकाशचन्द्र बागलुङमा पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बागलुङले ३१ वर्षीय आकाशचन्द्र परियारलाई पक्राउ गरेको छ ।

आइतबार दिउँसो प्रहरीले परियारलाई बागलुङ जिल्ला प्रकाशन कार्यालय परिषरबाट पक्राउ गरिएको बागलुङ प्रहरीका प्रमुख (एसपी) दयानिधि ज्ञवालीले बताएका छन् ।

गोरखाको शहीद लखन गाउँपालिका ४ स्थायी घर भएका परियारले सरकारी कागजपत्र र छापहरू नक्कली तथा कीर्ते गरेको अभियोगमा पक्राउ गरिएको छ ।

‘आकाशचन्द्र परियारले आफू जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गरिरहेको भन्ने सूचनाको आधारमा आइतबार पौने ४ बजे दिउँसो गुठीस्थित जिल्ला प्रशासन कार्यालय बागलुङको परिसरबाट पक्राउ गरिएको छ’, प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘परियारले आफू जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताइ निजामती कर्मचारीको पोशाकसहित विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्रहरू, आकाशचन्द्र परियार प्रशासकीय अधिकृतको रबर छाप बोकिरेहको अवस्थामा फेला पारी उनी बसेको होटलको कोठामा गई खानतलासी गर्दा विभिन्न सरकारी कार्यालयका छाप र दस्तखत भएका पत्रहरू, विभिन्न कार्यालयका छापहरू (स्ट्याम्प), ल्यापटप, त्रीसठ्ठी हजार, पेनड्राईभ लगायतका दशिका सामानहरू फेला पारी उक्त दशिका सामानहरू नियन्त्रणमा लिइएको छ’, प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

परियारलाई बागलुङ जिल्ला अदालतमा पेश गरेर प्रहरीले अनुसन्धानको लागि सात दिनको म्याद लिएको छ ।

Published : Monday, 2022 November 28, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया