पार्टी बचाउन नसक्ने र आफै हार्ने लुम्बिनी कांग्रेसका सभापति पुनको राजीनामा माग

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले राजीनामा दिनुपर्ने माग उठेको छ ।

गृहजिल्ला रोल्पामा प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका सभापति पुन पराजित भएपछि राजीनामा माग गरिएको हो ।

कांग्रेसका युवा नेता एवम् लुम्बिनी कांग्रेसका कार्यसमिति सदस्य मोती भण्डारीले सभापति पुनले पदबाट राजीनामा दिएर नैतिकता देखाउनुपर्ने सुझाव दिएका छन् ।

‘माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पार्टीको अनपेक्षित हारका कारण उच्च राजनैतिक नैतिकताको प्रश्न उठाउँदै आफ्नो पदबाट राजीनामा गरेछन् ! स्यलुट छ सुदर्शन जी । नेपाली कांग्रेस पनि लुम्बिनी प्रदेशमा अनपेक्षित हार भएको छ ।’

‘नेपाली कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष अमरसिंह पुनले आफ्नो उच्च नैतिकता प्रदर्शन गर्दै सभापति पदबाट राजीनामा गर्लान् या नगर्लान ? हेर्न बाँकी छ’, नेता भण्डारीले प्रश्न गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

सभापति पुनले नेतृत्व र तयारी गर्न नसक्दा लुम्बिनीमा कांग्रेस दोस्रो पार्टी हुन पुगेको छ ।

समानुपातिकमा पनि कांग्रेसका मत निकै कम आएको छ । यसको जिम्मेवारी सभापतिको हैसियतले पुनले लिएर सभापति पदबाट राजीनामा दिनुपर्ने माग र दवाव आएको छ ।

तर, पुनले सभापति पदबाट राजीनामा दिने कुनै संकेत गरेका छैनन् ।

आफै पराजित भएका पुनले सभापति पदबाट नैतिकताका आधारमा छोड्ने छन् वा छैनन् भविष्यमा देखिनेछ ।

Published : Monday, 2022 November 28, 11:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया