स्थानीय तहमा कांग्रेस जिताएका सुनिलले यस कारण एमालेको कथित लालकिल्ला भत्काउन सकेनन्

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका छन् ।

बिहीबार सार्वजनिक अन्तिम नतिजाअनुसार कांग्रेसका उम्मेदवार थापा धनकुटामा प्रतिनिधि सभातर्फ पराजित भएका हुन् ।

माओवादीका विद्रोही हेमराज भण्डारी र कांग्रेसभित्रकै केही तत्वका कारण धनकुटा कांग्रेसले गुमाएको छ ।

एमालेका कथित लालकिल्ला मानिने धनकुटामा नेता थापाले स्थानीय तहको निर्वाचनमा काग्रेसलाई राम्रो स्थान दिलाएका थिए । तर, प्रतिनिधि सभाको निर्वाचनमा थापा आफै पराजित हुन पुगेका छन् ।

धनकुटामा एमालेले प्रतिनिधि सभा र प्रदेश सभाका सबै स्थानमा जीत हात पारेको छ ।

एमालेका उम्मेदवार राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । एमालेका राईले कांग्रेसका थापालाई १ हजार ३ सय ९७ मतान्तरले पछि पार्दै जीत हात पारेका छन् ।

राईले ३० हजार १०१ मत प्राप्त गरी विजयी भएका छन् । कांग्रेसका थापाले २८ हजार ७ सय ४ मत प्राप्त गरेर पराजित भएका छन् ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य त्यागेर स्वतन्त्र उम्मेदवार भएका हेमराज भण्डारी तेस्रो स्थान प्राप्त गरेका छन् । भण्डारीले ५ हजार ९ सय २६ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा १ तर्फ एमालेका निरन राई र प्रदेश सभा २ मा एमालेकै ईन्द्रमणि पराजुली विजयी भएका छन् ।

जनता समाजवादीका नेता रकम चेम्जोङले ८ हजार २ सय ४७ मत प्राप्त गरेका छन् ।

धनकुटामा १ लाख १६ हजार ९ सय ९१ मतदातामध्ये ६९ हजार ४ सय ९६ अर्थात् ५९ दशमलव ४० प्रतिशत मत खसेको थियो ।

Published : Thursday, 2022 November 24, 5:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया