गोकुल बास्कोटाको जिल्लामा एमालेका जिल्ला कमिटी सदस्यलाई निर्वाचन आयोगले चुनाव गराउन पठायो

काठमाडौं । निर्वाचन आयोगले काभ्रेपलाञ्चोक जिल्लामा एमालेका जिल्ला कमिटी सदस्यलाई मतदान केन्द्रमा निर्वाचन गराउन खटाएको रहस्य बाहिर आएको छ ।

काभ्रेको क्षेत्र नंं. १ को रोशी गाउँपालिका–१२ स्थित गणेश मा.वि सिखरपुर (क) मतदान केन्द्रका लागि सहयोगी कर्मचारी खटाइएका धुलिखेल–८ का मोहनबहादुर गजुरेल एमाले जिल्ला कमिटी सदस्य हुन् । काभ्रेपलाञ्चोक एमालेका नेता गोकुल बास्कोटाको जिल्ला पर्छ ।

गजुरेल पुसमा सम्पन्न १०औं अधिवेशनबाट जिल्ला कमिटी सदस्य निर्वाचित भएका थिए । गजुरेल एमालेनिकटको अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को जिल्ला सहइञ्चार्ज पनि हुन् ।

गजुरेल नेपाल बनेपा बहुप्राविधिक महाविद्यालयमा राजपत्रअनकिंत द्वितीय श्रेणी कार्यरत छन् । गजुरेल एमालेको निर्वाचन अभियानमा सक्रिय थिए ।

चुनावी घरदैलोलगायतमा सक्रिय उनले सामाजिक सञ्जालमा पनि एमालेको पक्षमा प्रचारसमेत गर्दै आएका थिए ।

गजुरेलले आफू कुनै पनि राजनीतिक दलसँग आबद्ध नभएको दाबी गरेको निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालले बताएका छन् ।

काभ्रेकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पनि गजुरेलले स्पष्टीकरणमा पनि आफू कुनै पनि राजनीतिक दलसँग आबद्ध र कुनै पनि जिम्मेवारी पदमा नरहेको बताएको बताएकी छिन् ।

Published : Saturday, 2022 November 19, 5:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया