लागुऔषध ब्यूरोद्वारा काठमाडौंमा ठूलो परिमाणमा नयाँ चिज ‘खात’ बरामद, के हो खात ?

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर, काठमाडौंले लागुऔषध खात, गाँजा र एम्फेटामाईनसहित ५ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोका कार्यालय प्रमुख (एसएसपी) विकासराज खनालका अनुसार ललितपुरको धापाखेलबाट ३६ वर्षीय कविराज खड्कालाई पक्राउ गरिएको छ ।

धादिङको सिद्दलेख–१ स्थायी घर भइ काठमाडौंको शान्तिनगरमा बस्दै आएका २८ वर्षीय रामकुमार श्रेष्ठलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । श्रेष्ठ बोलेरोका चालक हुन् ।

‘केन्द्रीय अनुसन्धान ब्यूरो र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले बिगत लामो समयदेखिको सूचना संकलन एवम् निगरानीपछि कात्तिक १७ गते ग्रिन टीको नाममा नियन्त्रित लागुऔषध खातको कारोबार गर्ने दुई जनालाई धापाखेलबाट लागुऔषध खातसहित पक्राउ गरिएको छ’, एसएसपी खनालले बताएका छन् ।

श्रेष्ठको साथबाट प्रहरीले ४८० किलो खात, बा २० च १५८ नम्बरको बोलेरो पिकअप गाडी, ल्यापटप, आईफोन, सीम कार्डहरू र १ सय ग्राम तौलको तराजु बरामद भएको छ ।

प्रहरीले धापाखेलबाट बोलेरो गाडी, ४८० किलो खात, तीनकुनेस्थित यादब एण्ड यादब ग्रुप प्रालिको कार्यालयबाट ल्यापटप बरामद गरिएको छ ।

बरामद खात ईजरायलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्गोमार्फत आयात गरिएको देखिएको एसएसपी खनालले बताएका छन् ।

बरामद भएको २२० किलो खात अमेरिका पठाउन लागेको खुल्न आएको छ ।

प्रहरीले १० किलो ३ सय ग्राम गाँजासहित दुई जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको कुमाख–४ का वीरबहादुर बुढाथोकी रहेका छन् । भारतको पूर्वी चम्पारनका २५ वर्षीय राजा कुमार रहेका छन् । उनलाई प्रहरीले सिनामंगलबाट पक्राउ गरेको छ ।

उनले गाँजा अमेरिकाबाट मगाएको अनुसन्धानबाट खुलेको छ । गाँजा सांग्रिला टुर्स प्रालिको कार्यालय नक्सालबाट बरादम भएको एसएसपी खनालले बताए ।

ब्यूरोको टोलीले म्हैपीस्थित होटेलबाट लमजुङको बेसीशहर–४ का ३८ वर्षीय जोन भन्ने ओमबहादुर गुरुङलाई एम्फेटामाईन ३ ग्रामसहित पक्राउ गरेको छ ।

के हो खात ?

खात एक प्रकारको वनस्पती हो । जसलाई सन् १९८० मा विश्व स्वास्थ्य संगठनले ड्रग अफ एबुसको रुपमा वर्गीकरण गरेको छ । खातको प्रयोगले साइक्लोलोजी डिपेन्डेन्स उत्पन्न गराउँछ ।

यमन तथा ईथियोपिया लगायतका अफ्रिकी मुलुकमा खातको खेती हुने गर्छ । ईजरायलमा पनि खातको खेती तथा कारोबार हुने गर्दछ । खातको प्रयोगले भोक नलाग्नेलगायतका लक्षण देखिन्छ ।

खातलाई चपाएर, स्मोक गरेर,ग्रिन टी जस्तो गरेर पनि खाने गरिन्छ । स्वीडेन, स्वीजरल्याण्ड, फ्रान्स, डेनमार्क, बेल्जियम, युरोप, अमेरिका, नेदरल्याण्डलगायतका देशमा खात अबैध घोषित गरिएको छ ।

Published : Thursday, 2022 November 10, 11:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया