अष्ट्रेलियामा गायक प्रकाश दूतराजद्वारा आत्महत्याको प्रयास, यस्तो छ कारण

काठमाडौं । लोक तथा दोहोरी गायक प्रकाश दूतराजले आत्महत्याको प्रयास गरेका छन् ।

अष्ट्रेलियामा रहेका गायक दूतराजले आत्महत्याको प्रयास गरेको बुझिएको छ । दूतराज सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलियाको ब्रिसबेनमा छन् । गायक दूतराज र गायिका भूमिका गिरी केही दिन अगाडि साँगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया गएका थिए । उनीहरू अझै केही समय कार्यक्रमका लागि अष्ट्रेलिया बस्नेछन् ।

यसैबीच, गायिका गिरीले फेसबुकमा लेखेकी छिन्, ‘केही समयअघिदेखि तीब्र रुपमा प्रकाशनमा आएका न्यूजहरूको हेडलाईनहरू हेरे ! अनि पढे ! सामान्य कुरा थियो । तर, जसरी खबरहरूको माध्यमबाट जुन कुराहरू फैलाइएको छ । ती सबै बास्तविक होइनन् ।’

‘यस खालका समाचारहरू कै कारण स्वयं प्रकाश दूतराज भाइ, परिवार, साथी–भाई, आफन्त अनि माया गर्नु हुने दर्शक स्रोताहरूमा नकारात्मक प्रभाव पर्न सक्छ’, गायिका गिरीले भनेकी छिन् ।

‘प्रकाश भाइ, अर्गनाईज टिम, म हामी सबैसँगै अष्ट्रेलियाको विभिन्न शहरहरूमा हुँदै गरेको कार्यक्रमहरूको तयारी गरिरहेका छौं’, उनले भनेकी छिन् ।

‘मलाई धेरै फोन म्यासेजहरू आएको कारण हजुरहरू सबै सबैलाई जानकारी गराउँदै छु धन्यवाद’, गायिका गिरीले भनेकी छिन् । गायक दूतराजले डिप्रेशनका कारण आत्महत्याको प्रयास गरेको बुझिएको छ ।

दूतराजले आफू बसेको फल्याटको कोठामा झुण्डिने प्रयास गरेका स्रोतले जनाएको छ । घटना स्थानीय समयानुसार आइतबार मध्यरातमा भएको जनाइएको छ ।

आयोजकले गायिका गिरी र गायक दूतराजलाई एउटा फ्ल्याटमा अलग–अलग राखेका छ ।

गायक दूतराजले सलको पासो लगाएर झुण्डिने प्रयास गरेका थिए । सोही क्रममा उनी बसेको ढोका पनि खुल्लै भएको जनाइएको छ ।

कोठाबाट आवाज आएपछि गायिका गिरीले दूतराजको कोठामा पसेर उद्धार गरेको स्रोतले जानकारी दिएको छ ।

दूतराज अहिले सामान्य अवस्थामा छन् । अन्तर्मुखी स्वभावका दूतराजले आत्महत्या प्रयास गुर्नको कारण खुलेको छैन ।

दूतराजका ‘जाम भो माइली’, ‘घर कता हो बैनीको’, ‘चोली मैलै भो’, ‘मन भुल्छ’ लगायत गीत चर्चित छन् ।

केही दिनअघि रिलिज भएको उनको गीत ‘देउरालीमा’ पनि निकै रुचाइएको छ ।

Published : Monday, 2022 November 7, 8:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया