निर्वाचन विथोल्ने अधिकार कसैलाई छैन : गृहमन्त्री खाण

बुटवल । गृहमन्त्री बालकृष्ण खाणले वर्तमान ब्यवस्थाप्रति केही असन्तुष्टि जाहेर गर्दै मूलधारको राजनीतिभन्दा बाहिर रहेका दलहरूलाई पनि राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

बुधबार बुटवलमा आयोजित सुरक्षा गोष्ठी कार्यक्रममा खाणले असन्तुष्टि जाहेर गर्ने अधिकार सवै नागरिक र दलहरूलाई भए पनि निर्वाचन विथोल्ने अधिकार भने कसैलाई नभएको चेतावनी दिएका छन् ।

उनले कुनै दल वा समूहका नाममा निर्वाचन खलबल्याउने र जनताले आफ्ना नेता चुन्ने अधिकार खोसिदिने अधिकार कसैलाई नभएको बताए । उनले मूलधारको राजनीतिमा आउन समेत आग्रह गरेका छन् ।

‘हामी मिल्नेसम्म लचक भएर असन्तुष्ट दलहरूसँग सम्वाद र छलफल गरिरहेका छौँ’, उनले भने, ‘कतिपय मागहरू ऐन संशोधन बिना सम्वोधन गर्न सकिँदैन ।’

उनले भने, ‘सरकारले ऐन तर्जुमा गरेर भए पनि जायज माग सम्वोधन गरी असन्तुष्ट समूहरूलाई मूलधारमा ल्याउने प्रयत्न गरिरहेको छ ।’

गृहमन्त्री खाणले यो कुनै दल वा नेतालाई जिताउने र हराउने निर्वाचन मात्रै नभएर प्राप्त अधिकारको संरक्षण गर्ने र नागरिकको जीवनस्तर बदल्ने अभियान भएको बताए ।

‘जनताले आफ्नो अधिकार प्रयोग गरेर आफूले चाहेको दल र नेता जिताउने र उनीहरूको माध्ययमबाट प्राप्त अधिकार संरक्षण गर्ने, विकासको ढोका खोल्ने र जीवनस्तर फेर्ने अवसर हो’, खाणले भने, ‘त्यसैले कुनै दल वा समूहलाई निर्वाचन विथोल्ने र नागरिकको अधिकार खोस्ने अधिकार छैन ।’

उनले सरकार भयरहित, शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराउन प्रतिवद्ध भएको बताउँदै त्यसअनुसार जुट्न सुरक्षाकर्मीहरूलाई निर्देशन दिएका छन् ।

‘सबै नागरिक सुरक्षित होउन् । ढुक्कसंग मतदानस्थलसम्म पुगेर आफूले रोजेको व्यक्तिलाई मतदान गरेर फर्कन सक्ने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि सुरक्षा व्यवस्थापनमा कुनै कसर बाँकी नराख्नु ।’

सुरक्षा गोष्ठीमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी र सशस्त्र प्रहरी प्रमुख, नेपाली सेना र राष्ट्रिय अनुसन्धान कार्यालयका अधिकारीहरू सहभागी छन् ।

Published : Wednesday, 2022 November 2, 9:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया