ओलीबाट विकास सम्भव छैन, कांग्रेसले नै काम गर्छ : डा.महत

भैरहवा । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले मुलुकलाई समन्वयकारी राजनीतिक नेतृत्वको खाँचो रहेको बताएका छन् ।

नेपाली कांग्रेस चुनाव प्रचार–प्रसार समितिअन्तर्गतको खेलकुद उप–समितिले बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा डा.महतले अहिलेको निर्वाचन व्यवस्थाको रक्षा गर्नेखालको उम्मेदवारले जित्न आवश्यक रहेको बताए ।

प्रचार–प्रसार समितिका संयोजक समेत रहेका डा.महतले संविधान, प्राप्त उपलब्धि रक्षा गर्न तथा देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन कांग्रेसले नेतृत्व गरेको सत्तागठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।

डा.महतले केपी ओलीको नेतृत्वबाट मुलुकको विकास र समृद्ध सम्भव नभएको बताए । उनले मुलुकमा समन्वयकारी नेतृत्वको आवश्यकता रहेको बताउँदै त्यो क्षमता कांग्रेस सभापति शेरबहादुर देउवामा रहेको बताएका छन् ।

‘मुलुकमा विभाजनकारी होइन, समन्वयकारी नेतृत्वको आवश्यकता छ’, डा.महतले भनेका छन् ।

एमाले अध्यक्ष केपी ओलीलाई संकेत गर्दै कांग्रेसका प्रवक्ता डा.महतले भने, ‘काम नगर्ने, कुरा मात्रै गर्ने प्रबृत्तिको नेताबाट देशको विकास समृद्धि सम्भव छैन, देशले जिम्मेवार नेतृत्व खोजेको छ, त्यो नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ ।’

उनले अहिलेको निर्वाचन व्यवस्थाको रक्षा गर्ने की व्यवस्थालाई अझै कमजोर बनाउने भन्ने वीचको लडाइँ रहेको बताए ।

संविधान, प्राप्त उपलब्धि रक्षा गर्न तथा देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनको लागि कांग्रेसले नेतृत्व गरेको सत्तागठबन्धनका उम्मेदवारलाई जिताउन पनि डा.महतले आग्रह गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य डा.डिला संग्रौलाले संविधान र व्यवस्थाको रक्षा गर्दै युवालाई शिक्षा र रोजगारीको ग्यारेन्टी कांग्रेसले गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

केन्द्रीय सदस्य उमेशजंग रायमाझीले शान्ति र भयरहित समाज निर्माणका लागि पनि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।

रुपन्देहीको क्षेत्र नं. २ मा कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रतिनिधि सभा सदस्यमा जनमुक्तिका केन्द्रीय कार्यकारी अध्यक्ष केशवबहादुर थापा तथा प्रदेश सभा (१) मा कांग्रेसका युवा नेता दीर्घबहादुर केसी र प्रदेश सभा (२) मा माओवादी केन्द्रका नेता बामदेव क्षेत्री उम्मेदवार छन् ।

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार केशवबहादुर थापाले गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताए ।

यस अगाडिको संसदमा जनमुक्ति संसद् बाहिर भए पनि एमालेको सर्वसत्तावाद शैलीको सधैँ विरोध गरिरहेको उनले बताए ।

सत्ता गठबन्धनसँग अहिले मात्रै नभएर भविष्यमा पनि सहकार्य गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

प्रदेश सभा (१) का उम्मेदवार कांग्रेसका युवा नेता केसीले अहिलेसम्म खेलकुद क्षेत्रलाई उपेक्षा गरिएको बताउँदै आगामी दिनमा खेलकुद क्षेत्रलाई सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस क्षेत्रमा रङ्गशाला बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले अन्य खेलकुदका पूर्वाधार निर्माण तथा खेलाडीलाई व्यावसायिक विकास गर्न पहल गर्ने बताएका छन् ।

मतदाताको आवश्यकताअनुसार काम गर्ने बताउँदै उनले त्यसमा आफू पूर्ण प्रतिबद्ध रहेको बताए ।

अर्को निर्वाचनमा राम्रो काम गर्न सकेमा प्रतिनिधि सभामा जाने र यो स्थानमा युवालाई नेतृत्व हस्तान्तरण गर्ने पनि उनले बताएका छन् ।

कांग्रेस निर्वाचन प्रचार प्रसार समिति खेलकुद क्षेत्र समन्वय उप–समितिका संयोजक कर्माछिरिङ शेर्पाले खेलाडीलाई कांग्रेसले पहिचान दिएको बताए । उनले सत्तागठबन्धनका उम्मेदवारलाई विजयी बनाउन खेल क्षेत्रका व्यक्तिहरूले विशेष पहल गर्ने बताए ।

कांग्रेस महाधिवेशन प्रतिनिधि रीता सेन वली, प्रचार–प्रसार समितिका सह–संयोजक शुभराज बस्नेत लगायतले धारणा राखेका थिए ।

Published : Wednesday, 2022 November 2, 8:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया