एमालेको घोषणा पत्र आएकै दिन ओलीलाई लेखकको प्रश्न, ‘पानीजहाज र ग्याँसको पाइप कहाँ पुग्यो ?’

महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले बितेको पाँच वर्षमा एमालेले जनतालाई विकासका नाममा गफ मात्रै दिएको आरोप लगाएका छन् ।

मंगलबार दोधारा चादँनीमा घरदैलो कार्यक्रममा नेता लेखकले अहिले एमालेका अध्यक्ष केपी शर्मा ओलीका गलत क्रियाकलापका विरुद्ध सत्तागठबन्धन प्रतिस्पर्धामा रहेको बताए ।

कांग्रेस नेता लेखक कञ्चनपुर–३ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार रहेका छन् । उनलाई सत्तागठबन्धनका दलहरूको समर्थन छ ।

‘गएको निर्वाचनपछि ओलीजी प्रधानमन्त्री भएपछि संविधान भत्काउने र अहिलेको व्यवस्था कम्जोर बनाउने काम गर्नुभयो’, नेता लेखकले भनेका छन् ।

‘ओलीजीले घर–घरमा पु¥याउँछु भनेको ग्याँसको पाइप दोधारा चादँनीमा तपाईहरू कतिको घरमा पुग्यो ?’, लेखेकको प्रश्न थियो ।

समुन्द्र नभएको मुलुकमा पानीजहाज ल्याउनेदेखि चीनबाट रेल ल्याउनेसम्मका गफ एमालेले दिएको लेखकको आरोप थियो ।

‘बितेको पाँच वर्षमा विकासका कुनै काम यहाँ भएको भए मलाई देखाउनुहोस’, उनले भनेका छन् ।

‘कञ्चनपुर लगायत सुदूरपश्चिममा हामीले गरेको विकासका हिसाव हामी दिन सक्छौं’, उनले भनेका छन् ।

विगतका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला र आफूहरू मन्त्री, सांसद भएका बेला विकास भएको उनले बताएका छन् ।

चुनावी घरदैलो कार्यक्रममा बोल्दै कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ‘२’ बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यका उम्मेदवार बेलबहादुर रानाले निर्वाचन जित्ने एमालेका नेताहरूले कुनै काम नगरेको बताएका छन् ।

‘कञ्चनपुर–३ बाट पाँच वर्षमा दुई जना एमालेबाट माननीय भए तर, काम सिन्को भाचेँनन्’, नेता रानाले भनेका छन् ।

‘हामी चुनाव जितेर फर्केर नआउने पार्टीका नेता होइनौं’, रानाले भने, ‘पराजित हुँदा होस् वा जित्दा घर दैलोमा आएकै छौं ।’

आफू प्रदेशसभाको पाँच दलको साझा उम्मेदवार भएको बताउँदै रानाले महाकालीमा झोलुङ्गे पुल, पक्की पुलदेखि नदी कटान नियन्त्रण लगायतका विकास गर्ने पार्टी कांग्रेस नै रहेको बताएका छन् ।

Published : Wednesday, 2022 November 2, 12:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया