गोकुलका लोकप्रिय नेताहरूले पार्टी छाडे, मतदानका बेला एमालेलाई धक्का

बनेपा । काभ्रेपलाञ्चोक जिल्लामा एमालेको धुलिखेल नगर कमिटीका सह–इञ्चार्ज र खानीखोला गाउँपालिका कमिटीका उप–सचिवले पार्टी परित्याग गरेका छन् ।

जिल्ला कमिटी सदस्य एवं धुलिखेल नगर कमिटी सह–इञ्चार्ज यसबहादुर तामाङ र युवा संघ नेपालका केन्द्रीय सदस्य एवं खानीखोला गाउँपालिका कमिटीका उपसचिव विरेन्द्र ब्लोन माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

मंगलबार माओवादी केन्द्र पनौती नगर कमिटीले आयोजना गरेको पुनर्मिलन कार्यक्रममा उनीहरूसहित केही युवाहरू एमाले पार्टी परित्याग गरी माओवादी प्रवेश गरेको माओवादीले जनाएको छ ।

नवप्रवेशीहरूलाई माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार सूर्यमान दोङले टीका लगाएर स्वागत गरेका छन् ।

उनीहरू पहिले पनि माओवादीमा थिए । नेकपा विभाजन भएपछि उनीहरू एमालेमा गएका थिए ।

नवप्रवेशीहरू पुनः माओवादीमा फर्किएका छन् । एमालेप्रति असन्तुष्टि जनाउँदै माओवादी आएका हुन् ।

काभ्रेपलाञ्चोक जिल्लामा एमालेका चर्चित नेता गोकुल बास्कोटा छन् । बास्कोटाको ७० करोड कमिशन काण्डसहितका विभिन्न काण्ड चर्चित बनेका बेला लोकप्रिय नेताहरूले पार्टी छाडेका छन् ।

Published : Tuesday, 2022 November 1, 11:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया