ओखलढुंगामा एमालेभित्र शक्तिशाली पहिरो गयो, सत्तागठबन्धनलाई हराउन नसक्ने रामहरिको घोषणा

ओखलढुंगा । मतदानको मिति नजिकिएका बेला ओखलढुंगामा एमालेभित्र पहिरो गएको छ ।

मंगलबार सिद्धिचरण नगरपालिका–६ जन्तरखानीमा आयोजित सत्तागठबन्धनको कार्यक्रममा एमालेका एक सयभन्दा धेरै स्थानीय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

एमालेका स्थानीय लोकप्रिय नेताहरू सुजन मगर, रविन मगर, महेश मगर, पेम्बा शेर्पा, काजी शेर्पा, लेखबहादुर लगायत १५० जना कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीमा स्वागत गरेका छन् ।

नेता खतिवडाले कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) मिलेर ओखलढुंगामा उम्मेदवार बनेको भन्दै सत्तागठन्धनलाई विजयी बनाउन आग्रह गरेका छन् । उनले भने, ‘प्रतिनिधि सभामा म रामहरि खतिवडा, प्रदेशतर्फ ‘१’मा कांग्रेसका प्रदीप सुनुवार र ‘२’मा माओवादी केन्द्रका बाबुराम गौतमलाई लिएर उम्मेदवार बनेका छौँ । हामीलाई मतदान गरेर विजयी बनाउन अपील गर्दछु ।’

खतिवडाले भने, ‘कात्तिक १ गतेका दिन एमालेका साथीहरूले जम्मा ६ जना माओवादीका साथीहरूलाई प्रवेश गराएर जानुभएछ । राम्रो नाटक मञ्चन गरेर जानुभएछ । एमालेका साथीहरूले २५६ जनालाई प्रवेश गराएको भनेर समाचार दिनुभएछ । २ सय ५० प्रतिशत बढाउनेलाई जनताले देखेका छन् ।’

जन्तरखानीमा कांग्रेस र माओवादीका ६ सयभन्दा धेरै मतदाता रहेको खतिवडाले बताएका छन् । उनले माओवादी छाडेर एमाले बनेका ६ जना पनि केही दिनमा कांग्रेस र माओवादीमै प्रवेश गर्ने बताएका छन् ।

२०७४ सालमा पराजित हुँदा पनि जन्तरखानीमा आफूले टेलिफोन टावर बनाएको बताएका खतिवडाले एमालेका जनप्रतिनिधिले जितेर जाँदा बाटो र झोलुङगे पनि बनाउन नसकेको बताए ।

उनले भने, ‘ओखलढुंगाको जनताको मनमा कांग्रेस र माओवादीका उम्मेदवारलाई कुनै पनि ताकतले यस पटक हराउन सक्दैनन् ।’

कांग्रेस नेता खतिवडाले झण्डै दुईतिहाईको बहुमत हुँदा पनि दुई पटक संसद विघटन गर्ने र संसद चल्दा पनि संसदको बैठक चल्न नदिने एमालेलाई जनताले चिनेको बताए । उनले बहुमत हुँदा पनि सरकार चलाउन नसक्नेलाई मतदाताले मतदान गर्न नहुने बताएका छन् ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य प्रदीप सुनुवार, माओवादी नेतृ आशा कार्की, कांग्रेस नेता पेमानिमा शेर्पा, एकीकृत समाजवादीका नेता शारदा निरौला, निर्मला श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2022 November 1, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया