‘कल केपी बा !’ को यो कार्टुनले देश हल्लायो, अहिले आएर चारैतिर बबण्डर

काठमाडौं । नागरिक दैनिकले केही दिन अगाडि छापेको कार्टुनलाई लिएर बबण्डर भएको छ ।

प्रेस काउन्सिल नेपालले नागरिक दैनिकका सम्पादकलाई २४ घण्टे स्पष्टीकरण सोधेपछि बबण्डर भएको हो । ‘कल केपी बा !’ शीर्षकको कार्टुन चर्चित बनेका बेला स्पष्टीकरण प्रकरण तात्तिएको छ ।

काउन्सिलले स्पष्टीकरणमा भनेको छ, ‘कात्तिक ३ गतेको अंकमा ‘कल केपी बा !’ शीर्षक दिइ कुनै राजनीतिक दलका नेता एवम् उम्मेदवारलाई लक्षित गरी ब्यङ्ग्यात्मक रुपमा कुनै राजनीति दल तथा उम्मेदवारलाई अनुचित लाभ वा हानी पुर्‍याउने किसिमबाट पत्रकारिताको पेसागत मर्यादा प्रतिकूल सामग्री कार्टुन सम्प्रेण भएको प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ ।’

‘कल केपी बा !’ शीर्षकको कार्टुनलाई कार्टुनिस्ट रविन सामयीले बनाएका हुन् । सायमी कार्टुन कलामा निकै सशक्त मानिन्छन् । उनका कार्टुनले अच्छा–अच्छाको पसिना छुट्ने गरेको छ ।

काउन्सिलका अनुगमन अधिकृत सुरेन्द्र मल्लले नागरिक दैनिकका सम्पादकर्लाइ २४ घण्टे स्पष्टीकरण पेस गर्न कात्तिक ३ गते पत्र पठाएका छन् ।

उता, नेपाल कार्टुनिस्ट क्लबका अध्यक्ष बासु क्षितिज र महासचिव रवि मिश्रले विज्ञप्ति जारी गरेर प्रेस काउन्सिल नेपालले कात्तिक ३ गते नागरिक दैनिकका सम्पादकलाई सम्बोधन गरी २४ घण्टे स्पष्टीकरण सोधिएको घटनाप्रति कार्टुनिस्ट क्लब अफ नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘कल केपी बा ! शीर्षकमा प्रकाशित रविन सायमीको कार्टुनको विषयलाई प्रेस काउन्सिल नेपाल जस्तो जिम्मेवार निकायले नागरिक दैनिकलाई २४ घण्टे स्पष्टीकरण सोध्नु संविधानमै व्यवस्था भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको आक्रमण हो भन्ने हाम्रो ठहर छ’, विज्ञप्तिमा उल्लेख छ ।

क्लबले उक्त कार्टुन काउन्सिलले लान्छित गरेको जस्तो पत्रकारिताको पेशागत मर्यादा प्रतिकुल नभएको र पत्रकार आचारसंहिताको कुनै पनि व्यवस्था उल्लंघन नभएको प्रेस काउन्सिल नेपाललाई जानकारी गराएको जनाएको छ ।

क्लबले भनेको छ, ‘कार्टुनमा व्यंग्य गर्‍यो, कार्टुन व्यंग्यात्मक भयो भन्दै रुवाबासी गर्नु थोरै मात्रै पनि कलाचेत र पत्रकारिताको ज्ञान भएकोहरूलाई लज्जा हुनुपर्ने विषय हो’, क्लबको विज्ञप्तिमा भनिएको छ, ‘अझ यसैलाई लिएर सोधिएको स्पष्टीकरणप्रति हामीलाई आश्चर्य लागेको छ ।’

सामाजिक सञ्जालमा पनि ‘कल केपी बा !’ शीर्षकको कार्टुनलाई लिएर प्रेस काउन्सिलले सोधेको २४ घण्टे स्पष्टीकरणको आलोचना भएको छ ।

Published : Tuesday, 2022 November 1, 10:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया