सत्तागठबन्धनका उम्मेदवार जिताउन खेलकुद उपसमितिलाई डा.महतको निर्देशन, कांग्रेसले खेलकुदलाई ठाउँ दियो

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेस नेतृत्वको गठबन्धन बनाएर निर्वाचनमा प्रतिस्पर्धा गर्नुपरेको बताएका छन् ।

नेपाली कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार प्रसार समितिअन्तर्गतको ‘नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन खेलकुद क्षेत्र समन्वय तथा प्रचार प्रसार उपसमितिले आइतबार काठमाडौंमा आयोजना गरेको पहिलो भेलामा डा.महतले संविधान सभाबाट प्राप्त उपलब्धी नै गुम्ने अवस्था भएपछि संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरिएको बताए । उनले कांग्रेसको नेतृत्वमा रहेको सत्तागठबन्धनका उम्मेदवारहरुलाई मतदान गरेर विजयी बनाउन अनुरोध गरेका छन् ।

केन्द्रीय प्रचार प्रसार समितिका संयोजक समेत रहेका प्रवक्ता डा.महतले समानुपातिकतर्फ कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न अपील गरेका छन् ।

उनले भने, ‘कम्युनिस्टसँग किन मिलेर गठबन्धन गरेको होला भनेर कतिपय साथीहरुको मनमा जिज्ञासा छ ।’

‘हाम्रो निर्वाचन पद्धति दुई किसिमको व्यवस्था संविधानमा छ । ४० प्रतिशत सिट समानुपातिक र ६० प्रतिशत प्रत्यक्षबाट आउँछ’, उनले भने, ‘यस्तो अवस्थामा एउटै दललाई बहुमत ल्याउन कठिन छ । त्यस कारण पनि हामी गठबन्धनमा जान परेको छ ।’

डा.महतले भने, ‘हामीले गठबन्धन गरेनौँ भने अरुले गरिदिन्छन् । ०७४ सालमा ओलीजीले गठबन्धन गरिदिनुभयो ।’

उनले भने, ०७४ सालमा हारेपछि कांग्रेस विपक्षमा थियो । ओलीजीले जसरी शासनसत्ता चलाउनुभयो । आफू खुसी संविधानलाई लत्याएर चलाउनुभयो ।’

‘ओलीजीको कुरा ज्यादा, काम कम । चीनबाट रेल ल्याउने, भारतबाट पानीजहाज ल्याउने, घरघरमा ग्यास ल्याउँछु भन्नुभयो’, उनले भने, ‘साँच्चै हो जस्तो भन्नुभयो । विस्तारै ओलीजीको कुरा सबैले बुझे ।’

डा.महतले भने, ‘उहाँको पार्टीभित्र विद्रोह भयो । सबैले विद्रोह गरे । सबैले कांग्रेस नै चाहिन्छ भने । हामी त जान चाहेका थिएनौँ । संविधान नै जान थालेपछि सबै उपलब्धीको रक्षा गर्न गठबन्धन गरेका छौँ ।’

डा.महतले भने, ‘ओलीजी ३/४ घण्टा बोल्नु हुन्छ । देउवाजी ५/७ मिनट मात्रै बोल्नु हुन्छ । देउवा नबोलर काम गर्नु हुन्छ । ओलीजी धेरै गफ गरेर काम गर्नु हुन्न ।’

कांग्रेसका प्रवक्ता डा.महतले भने, ‘विगतका निर्वाचनमा खेलकुद क्षेत्रलाई उपसमिति बनाउने चलन थिएन । खेलकुदलाई पनि समेटेर प्रचार प्रसार उपसमिति बनाएका छौं ।’

उनले भने, ‘खेलकुद क्षेत्रकै व्यक्तित्व र पार्टीका नेताको नेतृत्वमा उपसमिति बनाएका छौँ । कांग्रेस र कांग्रेस नेतृत्वको गठबन्धनलाई जिताउन लाग्नु हुनेछ भन्ने विश्वास लिएका छौँ ।’

उपसमितिका संयोजक कर्माछिरिङ शेर्पाले प्रतिकुल अवस्थामा खेलक्षेत्रका व्यक्तिहरुले जिम्मेवारी पाएको बताएका छन् । उनले अहिले कांग्रेसमाथि सबै शक्तिहरु मिलेर प्रहार गरिरहेको बताएका छन् ।

उनले भने, ‘राजतन्त्रको पक्षमा बोल्ने र स्वतन्त्रको नाममा कांग्रेसलाई प्रहार गरिरहेका छन् । यस्तो अवस्थामा कांग्रेस नेतृत्वको गठबन्धनलाई जिताउनुपर्छ ।’

संयोजक शेर्पाले २०४६ सालपछि खेलकुदमा भनेअनुसारको विकास हुन नसकेको बताए । उनले ०४६ सालदेखि ०५२ साल कांग्रेसको नेतृत्वमा उच्च आर्थिक उन्नति भएको बताए ।

संयोजक शेर्पाले समयमा संविधान जारी नहुँदा कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको बताए । उनले निर्वाचन क्षेत्रमा एउटा निर्वाचन क्षेत्रमा कम्तिमा ३ जनाको व्यक्तिलाई राखिएको बताए । उनले कांग्रेस नेतृत्वको गठबन्धनलाई विजयी बनाउन १६५ वटै क्षेत्रमा समिति बनाएर सत्तागठबन्धनका उम्मेदवारलाई विजयी बनाउने बताए ।

कांग्रेस नेता एवम् उपसमितिका संयोजक शेर्पाले निर्वाचनपछिको सरकारले खेलकुदलाई विशेष ध्यान दिनुपर्ने बताए । उनले कार्यक्रममा विभिन्न क्लवका खेलाडी, खेलक्षेत्रका व्यक्तिहरुलाई बोलाएको बताए ।

नेपाली कांग्रेस प्रदेश कार्यसमितिका महामन्त्री राजु श्रेष्ठलगायतका नेता र उपसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

संयोजक शेर्पाले ४६३ सदस्यीय उपसमिति बनाएका छन् । संयोजक शेर्पाले सातै प्रदेशमा आफ्नो उपसमितिले कार्यक्रमहरु गर्ने बताएका छन् ।

Published : Sunday, 2022 October 30, 6:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया