ओलीका उडन्ते कुराको भण्डाफोर, देशभरि कति ठाउँमा छन् कांग्रेसका उम्मेदवार ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले उडन्ते कुरा मात्रै गरेको बताएका छन् ।

सोमबार नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ओलीले कुनै पनि काम नगरेको बताए ।

उनले बहुमतको सरकार कांग्रेसको बनाउने अवसरको रूपमा मंसिर ४ को निर्वाचनलाई लिएको बताएका छन् ।

‘७४ सीटमा गठबन्धनका अन्य दलको उम्मेदवारी छ’, डा.महतले भने, ‘९१ सीटमा कांग्रेसको उम्मेदवार बनाएको छ ।’

डा.महतले भने, ‘१५३ सिटमा अन्य दललाई प्रदेश सभामा सघाएका छौँ भने बाँकी ३ सय ३३० निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको उम्मेदवारहरु प्रतिस्पर्धा गर्दैछन् ।’

‘हामी सबैलाई थाहा छ गठबन्धन किन र कसरी बनेको भन्ने । ओलीजीले संविधान लत्याउनुभयो । व्यक्तीकरण गर्न खोज्नुभयो राज्य संरचनालाई पनि कब्जा गर्न खोज्नुभयो । त्यहीबाट विद्रोह भएपछि कांग्रेस नेतृत्वको सरकार बन्यो’, उनले भनेका छन् ।

‘ओलीजीको घरघरमा ग्यास पानीजहाज रेलको उडन्ते कुरा धेरै भए’, कांग्रेसका प्रवक्ता डा.महतले भने, ‘उहाँले उडन्ते कुरा गर्नुभयो काम केही भएन ।’

उनले कांग्रेस नेतृत्वको सरकार आएपछि ओली सरकारको जस्तै कुनै काण्ड नभएको बताएका छन् ।

‘साढे तीन वर्ष ओली सरकारको काम हेरौँ, हाम्रो एक वर्षको काम हेरौँ । त्यहीबाट प्रष्ट हुन्छ’, उनले भनेका छन् ।

उनले भने, ‘ओलीजीले त्यति ठूलो मत पाउनुभयो । ओलीजी जनताको मतलाई बाँदरको हातमा नरिवल जस्तो बनाउनुभयो ।

त्यसैले कांग्रेस नेतृत्वमा संविधान र संघीयताको कार्यान्वयन हुन्छ ।’

उनले संविधान रक्षाको लागि गठबन्धन आवश्यक भएको बताएका छन् ।

‘भोलि गठबन्धन नभए सरकार बन्ने अवस्था छैन । कुनै एक दलको बहुमत आउने अवस्था छैन’, उनले भने, ‘त्यसले लय मिलिसकेको यो गठबन्धनलाई समान प्रतिबद्धताको साथ अघि लानुपर्छ ।’

कांग्रेसका प्रवक्ता डा.महतले एमालेले अहिलेको उपलब्धिलाई समाप्त पर्ने विरुद्ध अघि बढेको आरोप लगाएका छन् ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको हस्तक्षेप नगर्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रतामा नै जनताले आवधिक निर्वाचनमार्फत् आफ्नो जनप्रतिनिधि छान्न पाउने भएकाले सरकार प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिलाउने काममा प्रतिवद्ध रहेको बताए ।

उनले प्रेस स्वतन्त्रतामार्फत् जनताको अधिकारलाई स्थापित गराउन पनि सरकार लागि परेको बताए । प्रधानमन्त्री देउवाले जनताको अधिकार सुरक्षित हुने काममा कुन पार्टीले बढि काम गरेको छ भन्ने कुराबारे सञ्चार क्षेत्रले जानकारी गराउनुपर्ने पनि बताए ।

प्रधानमन्त्री देउवाले जनता देशको मालिक भएकाले उनीहरुले गर्ने निर्णयको आधारमा सरकार र राजनीतिक दलहरु चल्नुपर्ने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री देउवाले प्रेसले पनि जनतालाई सुसूचित गराउने, जागरण ल्याउने काममा सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता समेत औंल्याए ।

Published : Monday, 2022 October 24, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया