देउवाले एमालेलाई फेरि दनक दिए, ओलीको अधिनायकवादविरुद्धको सत्तागठबन्धन

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको बताएका छन् ।

सोमबार काठमाडौंमा वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलामा देउवाले ठूलो संघर्षपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र समावेशीसहितको संविधानको रक्षा गर्न गठबन्धन बनेको बताए ।

‘नेपालको संविधान सच्चा मानेमा समावेशी छ । तसर्थ संविधानको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो’, देउवाले भने, ‘संविधानले भूगोललगायत सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ । यस्तो व्यवस्था विश्वमा विरलै पाइन्छ ।’

सभापति देउवाले संविधानअनुसार सबैले आफ्नो हकअधिकारका लगि आवाज उठाउने समावेशी जनताको प्रतिनिधि थलो सबै तहका सरकारमा बनेको बताए ।

उनले यसलाई भोलिका दिनमा अझ समृद्ध र परिष्कृत रूपमा अघि बढाउन सके सच्चा मानेमा संविधान कार्यान्वयन हुने बताए ।

देउवाले गठबन्धन आवश्यकताले बनेको बताउँदै भने, ‘यो अपरिहार्य थियो, छ र रहनेछ ।’

स्थायी शान्ति र लोकतन्त्र, कसैले खोस्न नसक्ने तथा लोकतन्त्र कसैले हटाउन नसक्ने संविधानको रक्षा गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।

उनले निर्वाचनको तयारीका लागि देशभर सम्पन्न भएका गठबन्धनका प्रादेशिकस्तरीय भेलामा अत्यन्त स्वःस्फूर्त जनताको सहभागिता रहेको देखिएको उल्लेख गरेका छन् ।

देउवाले गठबन्धन दलबीच आपसमा सौहार्दपूर्ण वातावरण बनेको बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा दुई वटा विचार र सिद्धान्तबीच आमनेसामने हुने बताएका छन् ।

दाहालले संविधान, गणतन्त्र, समावेशी र समानुपातिक गणतन्त्रका पक्षमा वाम लोकतान्त्रिक गठबन्धन खडा भएको उल्लेख गरेका छन् ।

उनले संविधान तथा गणतन्त्रका पक्षमा उभिने र त्यसलाई स्वीकार नगर्नेकाबीचमा निर्वाचनमा संघर्ष हुने बताएका छन् ।

उनले भने, ‘दुई वटा विचार, प्रवृत्ति, संस्कृतिका बीचमा आमनेसामने हुँदैछ ।’

संविधानको संरक्षणका साथै संघीयता र समानुपातिक प्रतिनिधित्वका पक्षमा आफूहरूको गठबन्धन रहेको उनले बताएका छन् ।

अध्यक्ष दाहालले परिवर्तन र अग्रगमनका पक्षधर र त्यसको विरोधीका बीचमा मंसिर ४ गते संग्राम हुने बताएका छन् ।

उनले प्रत्येक निर्वाचन कुनै पनि राजनीतिक विषयमा केन्द्रित हुने गरेको तथ्य पेस गर्दै अग्रगमन र परिवर्तनका पक्षमा उभिने कि नउभिने भन्नेबारेमा आगामी निर्वाचन पनि केन्द्रित भएको बताएका छन् ।

उनले भने, ‘विगतमा संविधान मिच्ने, प्रतिनिधिसभा विघटन गर्ने दुष्प्रयास गरियो । त्यसका विरूद्ध हामी सबै उभियौं । संघर्षका बीचमा गठबन्धन बनेको हो । सानो मेहनत र सानो कसरतबाट यो गठबन्धन जन्मेको होइन ।’

तत्कालीन एमालेको नेतृत्वमा माधवकुमार नेपाल नै भएकाले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको दाहालले बताए ।

अध्यक्ष दाहालले भने, ‘परिवर्तन, प्रगति, स्थिरता चाहने शक्ति एक ठाउँमा उभिएको र अर्कोतर्फ निरंकुशता र सामन्तवादतर्फ लैजान चाहने शक्ति उभिएका छौं । यो स्वाभाविक र प्राकृतिक छ ।’

Published : Monday, 2022 October 24, 8:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया