कांग्रेसकी दानवीर नेतृको निधन, देउवाद्धारा शोक व्यक्त

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ, पूर्व सांसद एवं समाजसेवी मैयादेवी श्रेष्ठको निधन भएको छ ।

आइतबार बिहान नेतृ श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको कांग्रेसले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान ०१ः१० बजे निधन भएको विज्ञप्तिमा उल्लेख छ ।

लामो समय महिला संघ चितवनको अध्यक्ष रहेकी श्रेष्ठ २०४८ को आम निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन् ।

२०५६ मा राष्ट्रिय सभामा मनोनीत र ०६२/६३ को जनआन्दोलनपछि उनी पुनस्र्थापित संसदको सदस्य पनि भएकी थिइन् ।

विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रका संघ संस्थाहरुलाई आर्थिक तथा जग्गा दान गरेकी श्रेष्ठले हाल नेपाल तरुण दलको केन्द्रीय कार्यालय रहेको काठमाडौंको रवी भवनस्थित भवन र जग्गा नेपाली कांग्रेस केन्द्रीय कार्यालयको प्रयोजनको लागि र नेपाली कांग्रेस जिल्ला कार्यालय चितवनको कार्यालय भवन निर्माणार्थ जग्गा दान समेत गरेकी थिइन् ।

राजनीति र समाजिक क्षेत्रमा उनले सक्रिय योगदान पुर्‍याएकी थिइन् । उनको निधनबाट पार्टी एक अनुभवी महिला नेतृत्वलाई गुमाएको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसकी महिला नेतृ, पूर्व सांसद एवं समाजसेवी मैयादेवी श्रेष्ठको निधनको खबरले मलाई अत्यन्त स्तब्ध र मर्माहत बनाएको छ ।’

‘दानवीरका रुपमा परिचित श्रेष्ठले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नुभएको सक्रिय भूमिका पार्टीले सदैव स्मरण गर्नेछ’, देउवाले भने, ‘उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’

Published : Sunday, 2022 October 23, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया