सत्तागठबन्धनलाई जिताउनुस्, हामी दाङको विकास गर्छौं : राजु खनाल

घोराही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उप–सभापति राजु खनालले आफ्नो पहिलो प्राथमिकता विकास रहेको बताएका छन् ।

विगतमा दाङ–२ का मतदाताले दोस्रो संविधान सभाका बेला विजयी बनाएर संविधान बनाउन पठाएको र त्यो जिम्मेवारी पूरा गरेको बताएका खनालले अब आफू विकासमा केन्द्रित हुने बताए । आफ्नो चुनावी प्रचारका क्रममा खनालले मतदाताहरूसँग लुम्बिनी प्रदेश सभामा पुगेर आफू दाङको विकासमा केन्द्रित हुन चाहेको बताए ।

‘दोस्रो संविधान सभाका बेला मलाई दाङ–२ ले जिताएर पठायो’, उनले भने, ‘त्यस बेला मेरोतर्फबाट खेल्नुपर्ने भूमिका खेलेर काम गरेँ । सुशील कोइरालाको नेतृत्वमा संविधान पनि बन्यो ।’

उप–सभापति खनालले भने, ‘अब लुम्बिनी प्रदेशको सभामा पुगेर दाङ र समग्र लुम्बिनीको विकासमा योगदान गर्नेछु ।’

कांग्रेसले जे बोल्छ त्यही मात्रै गर्ने गरेको बताएका खनालले कम्युनिस्टले जस्तो झुठका कुरा गरेर आफूले मतदातालाई भ्रममा नराख्ने बताए । उनले दाङको विकास कांग्रेसले भन्दा अरु कसैले गर्न नसक्ने पनि बताए ।

कांग्रेसले यसपटक सत्तागठबन्धनका दलहरूसँग मिलेर चुनावमा प्रतिस्पर्धा गरिरहेको भन्दै खनालले मतदाताहरूसँग सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले संविधान उल्लंघन गर्नेदेखि संसद दुई पटक विघटन गरेकाले गठन्धन गरेर उपलब्धीको रक्षा गरिएको खनालले बताए ।

उप–सभापति खनाल दाङ–२ ‘१’बाट प्रदेश सभातर्फ प्रत्यक्षमा उम्मेदवार बनेका छन् । दाङ–२ मा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा उम्मेदवार छिन् । प्रदेश सभा ‘२’तर्फ लुम्बिनी कांग्रेसका सदस्य प्रचण्डबिक्रम न्यौपाने उम्मेदवार छन् ।

दाङमा ३ वटा क्षेत्र छन् । तीन वटै क्षेत्रमा सत्तागठबन्धनका उम्मेदवारहरूको अवस्था निकै मजबुत बन्दै गएको छ ।

Published : Friday, 2022 October 21, 3:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया