दुईतिहाई पाउँदा पनि संसद विघटन गर्ने एमालेबाट मुलुक चल्दैन : महालक्ष्मी उपाध्याय

हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले संविधानमा हस्ताक्षर नगर्ने र संसद् विघटन गर्दै संविधानमाथि प्रहार गर्ने दलबाट मुलुकको हित नहुने बताएकी छिन् ।

उनले कांग्रेसको नेतृत्वमा ५ दलले मुलुक, संविधान र लोकतन्त्र जोगाएको बताइन् । सत्तागठबन्धनका उम्मेदवारलाई जिताउन उनले अनुरोध गरेकी छिन् ।

बिहीबार हेटौंडा १६, १७ र १८ नम्बर वडाका सत्तागठबन्धन दलको आयोजनामा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ उपाध्यायले लोकतन्त्र र संविधानको रक्षासंगै मुलुकको विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन जरुरी रहेको बताइन् ।

मकवानपुर–१ बाट कांग्रेसकी सह–महामन्त्री उपाध्याय प्रतिनिधि सभातर्फ उम्मेदवार बनेकी छिन् ।

‘शान्ति सम्झौतादेखि नै प्रचण्ड र माधवकुमार नेपालसंग गठन्धन हुँदै आएको हो’, उनले भनेकी छिन्, ‘अहिले केपी ओलीको सर्वसत्तावाद र ज्यादतीविरुद्ध फेरि हामीले गठबन्धन गरेका हौं ।’

उनले भनिन्, ‘दायाबायाँ नसोँची एकढिक्का भएर सत्तागठबन्धनलाई जिताउन लाग्नु जरुरी छ ।’

उनले सबै क्षेत्रको अधिकार सुनिश्चित गर्न सत्तागठबन्धनले साझा उम्मेदवार चयन गरेको उनले बताएकी छिन् ।

‘हामी १४ हजार मतले माथि छौं, डराउनुपर्ने अवस्था छैन’, उपाध्यायले भनिन्, ‘आफ्नो मत जोगाउँदै मतान्तर बढाउन लाग्नुपर्छ ।’

संविधानमा हस्ताक्षर नगरेर संसद् विघटन गर्नेहरू प्रतिगामी भएको कांग्रेस नेतृ उपाध्यायले आरोप लगाएकी छिन् । उनले एमालेले झण्डै दुईतिहाईको बहुमत पाउँदा पनि मुलुक चलाउन नसकेर बीचमै कांग्रेसलाई सत्तासुम्पिएको बताइन् । उनले सत्तागठबन्धनले प्रतिगामी शक्तिसंग चुनावमा प्रतिस्पर्धा बताइन् ।

‘तपाईंको पार्टीको उम्मेदवार छैन भन्दै भ्रम फैलाउन खोजिएको छ’, उनले भनिन्, ‘हामी ५ दलको साझा उम्मेदवार हौं । सत्तागठबन्धनको इमान्दारिता कायम राख्दै साझा उम्मेदवारलाई जिताउन लाग्नुस् ।’

‘आ–आफ्नो गाउँठाउँको मत जोगाउँदै एमाले र राप्रपाको भ्रमलाई चिर्दै वर्तमान सरकार र गठबन्धनले गरेको राम्रो काम जनतालाई जानकारी गराउनुहोला’, उनले भनेकी छिन् ।

उद्योग कलकारखाना पुनर्जिवित बनाउँदै युवालाई रोजगारीको व्यवस्था गर्ने, हेटौंडालाई व्यवस्थित औद्योगिक नगरी बनाउने तथा शिक्षा, स्वास्थ्य एवम् भौतिक पूर्वाधार विकासलाई जोड दिने योजना रहेको उनले बताइन् ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी राक्सिराङ्ग गाउँपालिकाका सभापति अनल मोक्तान नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

उनलाई बागमती प्रदेश कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँले शुक्रबार बिहान कांग्रेस बागमती प्रदेश कार्यालयमा मोक्तानलाई प्रवेश गराएका हुन् ।

पार्टी छोडेको घोषणा गर्दै मोक्तानले कांग्रेस रोजेका बताएका छन् ।

Published : Friday, 2022 October 21, 12:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया