राक्सिराङमा एमाले–राप्रपाको सातो जाने सत्तागठबन्धनको शक्तिशाली भेला

राक्सिराङ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको सत्तागठबन्धनले भव्य कार्यकर्ता भेला गरेको छ ।

बिहीबार मकवानपुरको राक्सिराङ गाउँपालिकामा निर्वाचन केन्द्रित कार्यकर्ता भेलाको आयोजना गरिएको हो ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तागठबन्धनका उम्मेदवारलाई विजयी गराउने अभियानअन्तर्गत राक्सिराङ–३ स्थित सरिखेतमा भेला गरिएको छ ।

भेलामा सहभागी उम्मेदवार तथा दलका नेताहरूले निर्वाचनमा सत्तँगठबन्धन दलबाट उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरेका छन् ।

सत्तागठबन्धनका उम्मेदवारहरू विजयी भएमा आगामी दिनमा प्रतिगमनको खतरा नहुने नेताहरूले बताएका छन् ।

मकवानपुर–२ का प्रतिनिधि सभाका उम्मेदार एवम् एकीकृत समाजवादीका नेता विरोध खतिवडाले मुलुकमा लामो संघर्षपछि प्राप्त संविधान, गणतन्त्र र संघीयताको रक्षाको लागि सत्तागठबन्धनलाई विजयी गराउनुपर्ने बताएका छन् ।

एमालेले राजतन्त्रका पक्षधर र हिजोको आन्दोलन दबाउन लागिपर्ने शक्तिसँग अपवित्र गठबन्धन गरेको खतिवडाले आरोप लगाए । उनले एमालेको गठबन्धनले सफलता नपाउने बताएका छन् ।

बागमती कांग्रेसका सभापति एवम् मकवानपुर–२ प्रदेश सभातर्फ ‘२’का उम्मेदवार ईन्द्रबहादुर बानियाँले आफूहरूले गरिब जनताको सेवा र न्यायको लागि राजनीति गरेको बताए । उनले जनताले विश्वास गरेर मन र मत दुवै दिने बताएका छन् ।

तत्कालीन गठबन्धन दल नेकपाको झण्डै दुईतिहाईको सरकारले गरिब र निमुखा जनताको लागि कुनै पनि काम गर्न नसकेको सभापति बानियाँले बताएका छन् ।

केपी ओलीकै अहंकारका कारण दलसमेत विभाजन भएको उनले बताएका छन् । अब जनताले विकास र समृद्धिको लागि काम गर्ने नेता खोजेको सभापति बानियाँले बताएका छन् ।

वर्तमान व्यवस्थाले पिछडिएको चेपाङको छोरोलाई समेत मन्त्री हुने अवसर दिएको बताउँदै एमालेको हातमा सत्ता गए व्यवस्था नै गुम्ने खतरा हुने कांग्रेस सभापति बानियाँले बताएका छन् ।

सत्तागठबन्धनको नेतृत्वमा प्रदेश सरकार बनेपछि छोटो समयमै गाउँगाउँमा पूर्वाधार विकास भएको उनले बताए ।

अबको निर्वाचनमा पनि सत्तागठबन्धनकै उम्मेदवारलाई विजयी गराउन बानियाँले आग्रह गरेका छन् ।

मकवानपुर–२ प्रदेश सभातर्फ ‘१’ का उम्मेदवार एवम् माओवादी नेतृ कुमारी मोक्तानले सत्तागठबन्धन मुलुकको आवश्यकता भएको बताइन् ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजाराम स्याङ्तान, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, नेपाली कांग्रेस महासमिति सदस्य सन्तबहादुर चेपाङ, कांग्रेस महाधिवेशन प्रतिनिधि राजकुमार मल्ल, माओवादी केन्द्र प्रदेश परिषद् सदस्य वनस्तम थिङ, कांग्रेस राक्सिराङ गाउँपालिका सभापति वीरेन्द्र जिम्बालगायतले मन्तव्य राखेका थिए ।

Published : Friday, 2022 October 21, 11:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया