ओली प्रवृत्ति अन्त्यका लागि सत्तागठबन्धनले जित्नै पर्छ : विद्वान गुरुङ

नवलपरासी । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सत्तागठबन्धनका उम्मेदवारहरूले जित्नुपर्ने बताएका छन् ।

बिहीबार नवलपरासी तरुण दलले राखेको भेलामा अध्यक्ष गुरुङले सत्तागठवन्धन उम्मेदवारलाई तरुण दलले जिताउन विशेष भूमिका र प्रचार–प्रसार गर्नुपर्ने बताए ।

अध्यक्ष गुरुङले सत्तागठवन्धन संविधानको रक्षा र विकासका लागि एकतावद्ध बनेर आएको बताए । उनले खड्गप्रसाद ओलीको प्रवृत्तिविरुद्ध र ओली प्रवृत्तिको अन्त्यको लागि गठबन्धन बनेको बताए ।

‘आफ्नो नेताको लागि बोल्ने भनेको टिकट नपाउन्जेलसम्मको लागि मात्र हो’, उनले भने, ‘पार्टीले टिकट दिएपछि उ व्यक्तिको होइन पूर्णरुपमा पार्टीको र जनताको उम्मेदवार हुन्छ ।’

अध्यक्ष गुरुङले भने, ‘मलाई विश्वास छ । नवलपरासी जिल्लाको क्षेत्र नं. १ बाट उद्योगी विनोद चौधरी र क्षेत्र नं. २ बाट नेता देवेन्द्रराज कँडेललाई जिताउन तरुण दल लाग्नेछ ।’

‘जिल्लामा पार्टीको लुम्बिनी प्रदेशको पदाधिकारीहरूले अझ जिम्मेवार ढंगले लाग्ने विश्वास लिएको छु’, गुरुङले भनेका छन् ।

तरुण दलको मातहतको सम्पूर्ण तहको कार्यसमिति परिचालन गर्न नवलपुर तरुण दलको नेतृत्वलाई अध्यक्ष गुरुङले निर्देशन दिएका छन् ।

अध्यक्ष गुरुङले नवलपरासीका तरुणहरूसँग नजिक रहेर अधिकतम रुपमा अन्तरक्रिया गर्न पाएकोमा जिल्ला कार्यसमितिलाई धन्यवाद दिएका छन् ।

कार्यक्रम तरुण दलका जिल्ला अध्यक्ष सुक गुरुङले तरुण अध्यक्ष गुरुङ र सहभागीहरूलाई धन्यावाद दिएका छन् ।

तरुण दलका केन्द्रीय अध्यक्ष गुरुङसँग निवास यादव, सुरज केसी, सागर शिरीष, सरोज थापा, रमेश पराजुलीलगायतले निर्वाचनका सन्दर्भका विभिन्न जिज्ञासाहरू राखेका थिए । अध्यक्ष गुरुङले पनि पार्टीको नीति र निर्देशनका विषयमा तरुणहरूलाई जानकारी गराएका छन् ।

Published : Thursday, 2022 October 20, 10:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया