देउवाले सत्तागठबन्धनलाई खुसीको बहार ल्याइदिए, ओलीको भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तागठबन्धनका उम्मेदवारहरूलाई भोट हाल्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मंगलबार ललितपुरमा आयोजित सत्तारूढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा बोल्दै देउवाले आफूले हँसिया–हतौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने बताए ।

उनले पार्टीका नेता, कार्यकर्तालाई पनि सत्तागठबन्धनका उम्मेदवारहरूलाई मतदान गरेर जिताउन आग्रह गरे ।

उनले आगामी निर्वाचनमा सत्तारूढ गठबन्धनले अत्यधिक बहुमत ल्याउने गरी मतदान गर्न पनि आममतदातालाई आग्रह गरेका छन् ।

‘अब हँसिया–हतौडा को, रूख को भन्ने नै छैन । कसलाई भन्ने नै छैन’, देउवाले भने, ‘त्यसकारण कलम भएको ठाउँमा कलमलाई नै भोट हाल्ने । हँसिया–हतौडा भएको ठाउँमा हँसिया–हतौडालाई नै भोट हाल्ने ।’

सभापति देउवाले भने, ‘रूख भएको ठाउँमा रूखलाई नै भोट हाल्ने । यति भए पुगिहाल्यो नि । किन चाहियो अरू कुरा ?’

सत्तागठबन्धनले अत्यधिक बहुमत ल्याए मुलुकमा शान्ति, लोकतन्त्र र गणतन्त्रले पनि स्थायित्व पाउने देउवाको भनाइ छ ।

सत्तागठबन्धनका दलहरूबीच अविश्वासको वातावरण नरहेको भन्दै उनले खुसी व्यक्त गरेका छन् ।

देउवाले ओलीले जनताले चुनेको संसदलाई मनपरी ढंगले भंग गरेको बताए । उनले ओलीले राष्ट्रपतिलाई राति २ बजे उठाएर समेत संसद भंग गरेको बताएका छन् ।

‘राति २ बजे राष्ट्रपतिलाई उठाएर भंग गरियो, विहान गरेको भए राति ६–७ बजेतिर गरेको भए पनि हुन्थ्यो’, देउवाले भने, ‘त्यस्तो किसिमको लहडमा भंग गर्न थालेपछि त के के गर्नुहुन्छ गर्नुहुन्छ, त्यसैले हामीले संसद बचाउन आवश्यक थियो ।’

संविधान बनाउँदा नै कुनै हालतमा संसद विघटन गर्न नपाइने उल्लेख गरिएको भन्दै देउवाले लोकतन्त्रमा आवधिक निर्वाचनको महत्व हुने बताए । ‘तर उहाँले चुनाव हुने समय भन्दा २ वर्षअघि नै संसद भंग गरिदिनुभयो’, देउवाले भने ।

Published : Tuesday, 2022 October 18, 11:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया