एमालेको गठबन्धन प्रतिगामी र अप्राकृतिक : गृहमन्त्री खाण

भैरहवा । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले एमाले नेतृत्वको गठबन्धन अप्राकृतिक र प्रतिगामी भएको बताएका छन् ।

मंगलबार बुटवल उप–महानगरपालिका–१४ मा चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै खाणले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा विमति राखेको पार्टी पनि एमाले नेतृत्वको गठबन्धनमा रहेको बताए ।

एजेन्डा नै नमिल्ने पार्टीबीच भएको गठबन्धन प्राकृतिक हुन नसक्ने गृहमन्त्री खाणले बताएका छन् ।

खाणले भने, ‘एमालेको गठबन्धनमा एउटा दल गणतन्त्रवादी छ । त्यही गठबन्धनमा रहेको अर्को दलले गणतन्त्र स्वीकार्दै स्वीकारेको छैन । यस्तो गठबन्धनलाई कसरी प्राकृतिक गठबन्धन भन्ने ?’

अहिले आफ्नासामू दुई जिम्मेवारी रहेको गृहमन्त्री खाणले बताएका छन् ।

‘एउटा, देशभर एकैपटक शान्ति सुरक्षा कायम गर्दै निष्पक्ष, स्वतन्त्र, भयमुक्त र निर्वादरूपमा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी र अर्को आफूलाई जनताले रुचाएको, खोजेको र मन पराएको बनेर निर्वाचन जित्नुपर्ने अवस्था छ’, उनले भनेका छन् ।

अग्रगमनको दिशामा लागेर समृद्ध मुलुक बनाउन पाँच दलीय गठबन्धनलाई जिताउन उनले आग्रह गरेका छन् ।

कांग्रेस नेता खाण रुपन्देही–३ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार बनेका छन् ।

Published : Tuesday, 2022 October 18, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया