देउवासँग होइन ओलीजी गगनसँग बहस गर्ने हिम्मत छ ? कांग्रेसले गफाडीहरूलाई दियो च्यालेञ्ज

काठमाडौं । झण्डै दुईतिहाईको बहुमत हुँदा पनि आफ्नै सरकार र पार्टी बचाउन नसकेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले बहसका लागि नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई च्यालेञ्ज दिए छन् ।

मंगलबार आफ्नो फेसबुक पेजबाट ओली देउवालाई बहसका लागि च्यालेञ्ज दिएपछि विभिन्न खालका टिकाटिप्पणी भइरहेका छन् । हो, ओली जस्तो देउवा धेरै बोल्दैनन् । ओलीले जस्तो झुठ पनि बोल्दैनन् । देउवाले कुराभन्दा धेरै काम गर्छन् ।

देउवा र ओलीबीच बहस हुँदा गफ, झुठ र बोलेर ओलीले जित्लान् । तर, देउवा सत्ता चलाउने, देशको विकास गर्ने, कुटनैतिक सम्बन्ध राख्ने, जनताको सेवा गर्नेलगायतका कुरामा देउवालाई ओलीले एउटा कुनामा पनि छुन सक्दैनन् ।

ओलीले जस्तो पानीजहाज, घरघरमा ग्यासको पाइप, चीनबाट रेल ल्याउने लगायतका झुठ्ठा कुरा गरेर नेपाली जनतालाई झुक्कासकेका छन् । हो देउवा ! ओलीले जस्तो झुठ बोल्न जान्दैनन् । देउवा बोलेको कुरा पनि बुझिदैन । तर, देउवाले काम गरेको बुझिन्छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले भने, ‘ओलीजी निकै गफाडी हुनुहुन्छ । म पनि मान्छु ओलीजी राम्रो वक्ता हो । झुठ्ठा कुरा गर्नु हुन्छ । तर, देउवाको कुरा बुझिदैन, देउवाको काम बुझिन्छ ।’

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सभापति देउवासँग एमालेका अध्यक्ष ओली बहसमा होइन विकासका काममा प्रतिस्पर्धा गर्न आउनुपर्ने च्यालेञ्ज गरेका छन् । डा.महतले भने, ‘सभापति शेरबहादुर देउवा धेरै बोल्नु हुन्न । उहाँले काम गरेर देखाउनु हुन्छ । ओलीले जस्तो झुठ बोल्ने, जनता ढाँट्ने काम गर्नु हुन्न । गफाडी बहसमा होइन, काम कसले धेरै गरेको छ ? त्यसमा प्रतिस्पर्धा गरौँ ।’

अध्यक्ष ओलीले बहसका लागि सभापति देउवालाई होइन हिम्मत छभने महामन्त्री गगन थापालाई निम्ताउनुपर्छ । थापासँग बहस गर्ने हिम्मत छ ? ओलीको ।

कांग्रेसका नेता कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत ओलीलाई महामन्त्री थापासँग काठमाडौंको खुलामञ्चमा बहस गर्न च्यालेञ्ज दिएका छन् ।

२०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जनतासँग राजनीतिक स्थायित्वका लागि ओलीले मत मागे । जनताले पनि झण्डै दुईतिहाई बहुमत दिए । अध्यक्ष ओलीको अहँकार, घमण्ड र पार्टी मिलाउन नसक्दा करीव साढे दुई वर्षमा सरकार ढल्यो । आफ्नै दुई वटा पार्टी (तत्कालीन नेकपा र एमाले) फुट्न पुगे । सत्ता चलाउन नसक्दा ओली आफैले देउवालाई सरकार चलाउन सत्ता सुम्पिए । अहिले आएर देउवालाई ओलीले च्यालेञ्ज गरेर सबैलाई हँसाएका छन् । ओलीले बहस गर्नै मन छभने महामन्त्री थापालाई च्यालेञ्ज गर्नुपर्छ । अनि जनताले पनि ओलीको हैसियत थाहा पाउनेछन् ।

ओलीले प्रश्न गर्दै फेसबुकमा लेखेका छन्, ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले लाईभ डिबेटमा आउन आग्रह गर्नु भएको छ । धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ । निर्वाचनको समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?’

ओली प्रधानमन्त्री बनेका बेला ओम्नी काण्ड, वाइडबडी काण्ड, नेपाल ट्रष्टको सम्पत्ति काण्ड, सुपारी काण्ड, गिरी बन्धुको जग्गा काण्डहरू जनताले अझै भुलेका छैनन् ।

Published : Tuesday, 2022 October 18, 9:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया