नयाँ प्रधानमन्त्रीबारे कांग्रेस प्रवक्ता डा.महतको यस्तो आयो टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आफू निर्वाचन लड्न चाहे पनि पार्टीले समानुपातिकमा राखेको बताएका छन् ।
सोमबार पार्टी कार्यालय ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा डा.महतले भने, ‘म निर्वाचन लड्न चाहन्थेँ, पार्टीले समानुपातिकमा राख्यो ।’
पार्टीमा गुटको अन्त्य गर्ने सहमति भएको उनले बताए । एउटा परिस्थितिमा बनेको गठबन्धन सरकारले छोटो अवधिमा नेपाली राजनीतिलाई एउटा अर्डरमा ल्याएको डा.महतले बताएका छन् ।
उनले अबको एक–दुई दिनमै सत्तागठबन्धनका तर्फबाट संयुक्त अपील गर्ने बताएका छन् ।
आसन्न निर्वाचनमा योग्य नेतालाई पनि टिकट दिन नसकिएको उनले बताए । ‘कतिपय साथीहरू योग्य हुँदाहुँदै पनि टिकट दिन सकिएन’, उनले भने, ‘गठबन्धनका कारण पनि त्यो भयो ।’
प्रवक्ता डा.महतले भावी प्रधानमन्त्रीबारे चर्चा गर्ने बेला नभएको बताएका छन् ।
‘पार्टीमा बोल्ने अधिकार छ । साथीहरूले विभिन्न किसिमबाट अभिव्यक्ति दिनुभएको छ’, डा.महतले भने, ‘हामी निर्वाचन मुख्य केन्द्रमा छौँ । निर्वाचनबाट सांसद बनौं ।’
‘संसदमा गएपछि संसदीय दलको नेता चयन गर्ने प्रक्रिया छ’, उनले भने, ‘त्यहाँबाट निर्वाचित हुनुभयो भने । प्रधानमन्त्रीको बिषय आउँछ ।’
उनले अहिले पार्टी र गठबन्धन उम्मेदवार जिताउन लाग्न आग्रह गरेका छन् ।
‘चुनाव जितिसकेपछि मात्रै प्रधानमन्त्री को हुने भन्ने कुरा आउँछ’, प्रवक्ता डा.महतले भने, ‘अहिले बेला भएको छैन ।’
उनले प्रमुख प्रतिपक्षी दल एमालेजस्तो ठूला गफ गर्ने पार्टी कांग्रेस नभएको बताएका छन् ।
‘कांग्रेस धेरै बोल्दैन काम गरेर देखाउँछ । हाम्रो विपक्षी पार्टी देख्नुभएकै होला’, उनले भने, ‘कुरा ठूलो गर्छ । तर, काम फिटिक्कै गर्दैन । हामी काममा विश्वास गछौँ । परिणाम हामी देखाउँछौँ ।’
उनले भने, ‘०४६ सालपछि हामीले छोटो समयमा कतिधेरै परिवर्तन गरेका थियौँ । त्यसपछि त देश द्वन्द्वमा फँस्यो । फेरि पनि त्यो मौका पाउनासाथ देशलाई केन्द्रिबिन्दुमा राखेर सत्ता चलाउने लक्ष्य छ ।’
उनले पाँच दलीय गठबन्धनको सरकारले हरेक नेपालीको आवाजलाई सम्बोधन गरेको बताए ।
डा.महतले गठबन्धनले देशलाई सही ट्रयाकमा ल्याएको बताए ।
‘कुन परिस्थितिमा गठबन्धनको सरकार बनेको सबैलाई थाहा छ’, उनले भने, ‘गत साल असार निर्माण भएको गठबन्धन सरकारले छोटो समयमा देशलाई अडरमा ल्याएको छ ।’
उनले भने, ‘कोरोना नियन्त्रण, विदेश नीतिमा सन्तुलन, जनताको विषयलाई प्राथमिकता राखेको छ ।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गरेर संवैधानिक अंगमाथि भएको प्रहार गरेपछि गठबन्धन बनेको बताएका छन् ।
उनले गठबन्धनले हरेक नागरिकका आवाजलाई सम्बोधन गर्ने कोसिस गरिरहेको बताए ।
उनले संविधानले दिएको अधिकारलाई पूर्ण रूपमा लागू गरेको बताए ।
स्थानीय तहको निर्वाचन निष्पक्ष ढंगबाट गरिसकेकाले अब आगामी प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउने लक्ष्य लिएको बताएका छन् ।
‘हामीले सीट बाँडफाँट गरेपछि चुनावी तयारीमा जुटेका छौँ। जसपा बाहिरिएको छ’, प्रवक्ता डा.महतले भने, ‘हामीले उदारताको साथ सीट बाँडफाँट गरेका छौँ । तर, जसपा बाहिरिएको छ । उहाँहरूको मूल्यांकन जनताबाट हुन्छ ।’
डा.महतले गठबन्धनबाट उम्मेदवारी दिएकाले मतदातालाई सचेत बनाउने लाग्नुपर्ने बताएका छन् ।
‘हामीले धेरै सीटमा उम्मेदवारी दिनेभन्दा पनि जित्नुपर्छ भन्ने हाम्रो धारणा हो’, उनले भने, ‘गठबन्धनका सबै दलहरू लाग्नुपर्छ । हामीले कांग्रेस नेतृत्वको सरकार बनाएर संविधानको रक्षा गर्ने लक्ष्य लिएका छौँ ।’
गठबन्धनकै कारणले योगदान गरेका नेताहरूलाई पनि उम्मेदवार बनाउन नसकेको प्रवक्ता डा.महतले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया