यस्तो छ महानिर्देशक अधिकारीको कर्तुत, प्राधिकरणभित्र खैलाबैला, अख्तियारमाथि भरोसा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका कर्तुतहरू एकपछि अर्को बाहिरिन थालेका छन् ।

अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भदौ २५ गते परेको उजुरीको पहिलो नम्बरमा अधिकारीले मनाङ विमानस्थलमा राज्यालाई करोडौं रुपियाँ नोक्सानी गराएको आरोप छ ।

बुँदा नं. १ मा भनिएको छ, ‘निज मनाङ विमानस्थलको आयोजनाको आयोजना प्रमुख हुँदा ईस्टिमेटभन्दा बढी रकमको भरिएसन समेत गराई ११ करोडमा विमानस्थ निर्माण गरेको, हाल उक्त विमानस्थल निर्माण भएको १० वर्ष वितिसक्दा समेत एउटा पनि एयराईन्सले उडान नगरेको, अहिले पुनः त्यसलाई मर्मत सम्भार गर्न भनि १० करोड रकम खर्च गर्न बजेट छुट्याइ सरकारी सम्पत्ति दुरुपयोग गरेको ।’

प्राधिकरणका महानिर्देशक अधिकारीका कर्तुतहरू २६ वटा बुँदामा समेटेर अख्तियारमा दर्ता गरिएको छ ।

अख्तियारले पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत महानिर्देशक अधिकारी र प्राधिकरणमा के भएको हो ? भनेर पत्र काटेको छ । पत्रको जवाफ अख्तियारले पायो वा पाएन खुलेको छैन ।

अख्तियारले अधिकारीका कुर्तुतहरूमा छानविन गर्न प्राधिकरणका सबै फाइल कब्जा गरेर अनुसन्धान गर्नुपर्ने माग उजुरीमा छ ।

अधिकारीले आफूभन्दा सिनियर ईन्जिनियर कर्मचारी हुँदाहुँदै प्राधिकरणको ठूला–ठूला आयोजनाहरू पोखरा, गौतम बुद्ध, निजगढ, विमानस्थल आफ्नो पद मिलेता पनि त्यसको आयोजना प्रमुख बनेको भन्दै उजुरीमा आन्तरिक विमानस्थलहरूको निर्माण, मर्मत सम्भार गर्ने कार्यका लागि प्रधान कार्यालयमा रहेको सिभिल ईन्जिनियरिङ विभागको प्रमुख पनि पैसा र शक्तिको भरमा आफैले लिएको आरोप लगाइएको छ ।

आफूभन्दा सिनियर उच्च कर्मचारीहरूलाई लात हानेर अधिकारी महानिर्देशक बनेर आएपछि प्राधिकरणमा खैलाबैला भएको छ ।

प्राधिकरणभित्र महानिर्देशक अधिकारीका कारण कर्मचारीहरूभित्र विष्फोटको अवस्था सिर्जना भएको चर्चा छ ।

महानिर्देशक अधिकारीले प्राधिकरणको सूचना बाहिर चुहिन्छ कि भने पञ्चायतको शासनकालमा जस्तै निरंकुशता बनाएको आरोप छ । अधिकारीका बारेमा सोध्न खोज्दा कुनै पनि कर्मचारी बोल्न मान्दैनन् ।

अख्तियारले आफ्नो कामलाई जबरजस्त रुपमा अगाडि बढाउनुपर्ने माग उठेको छ । अख्तियारले अधिकारीमाथि गहिरो अनुसन्धान गर्नुपर्ने माग कर्मचारीहरूको छ ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई रिझाएर महानिर्देशक पद कब्जा गरेका अधिकारीले अहिलेका मन्त्री जीवनराम श्रेष्ठलाई टेर्न छाडेका छन् । श्रेष्ठले भनेको कुरा अधिकारीले नमान्ने गरेको चर्चा प्राधिकरणभित्र छ ।

महानिर्देशक अधिकारीसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Published : Monday, 2022 October 17, 3:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया