आईजीपी सिंहले कमाण्ड सम्हालेपछि यी हुन् प्रहरीले गरेका शक्तिशाली कामहरू, तलका प्रहरी मिशनमा जान पाउने

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले उच्च मनोबलका साथ प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न नेपाल प्रहरी तयार रहेको बताएका छन् ।

सोमबार प्रहरी मुख्यालय नक्सालमा आयोजित ६७औँ प्रहरी दिवस २०७९ का अवसरमा आयोजित विशेष समारोहमा बोल्दै सिंहले शान्तिपूर्ण रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेको भन्दै मंसिर ४ गतेको निर्वाचन पति शान्तिपूर्ण हुने बताए ।

‘वैशाखमा हामीले स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सफल भयौं’, उनले भने, ‘यस कार्यमा तालुक मन्त्रालय र नेपाल सरकारबाट भएको सहयोगप्रति आभारी छौँ ।’

आईजीपी सिंहले भने, ‘स्थानीय निर्वाचनको सफलताको आत्मविश्वासको जगमा आगामी मंसिर ४ मा सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन उच्च मनोबलका साथ स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सकल दर्जा उत्साहित एवम् कटिबद्ध रहेको छ ।’

उनले भने, ‘शान्तिपूर्ण रुपमा निर्वाचनलाई सम्पन्न गरी लोकतन्त्रलाई संस्थागत गर्ने नेपाल प्रहरीलाई प्राप्त आदेशलाई जिम्मेवारीका साथ कार्यान्वयन गरिनेछ ।’

‘निर्वाचनको व्यवस्थापन तथा प्रहरीको परिचालनको बढोत्तरीको लागि हालै १८० वटा सवारी सधान खरिद गर्न सहमतिप्रति आभार प्रकट छर्दछौं’, आईजीपी सिंहले भनेका छन् ।

उनले भने, ‘गत वर्षको तुलनात्मक कुल अपराध दर्ता १७ प्रतिशतले वृद्धि भएको छ । कर्तव्य ज्यान, अपहरण लगायतका संगठित अपराधका घटनामा उल्लेख्य कमी आएको छ । आर्थिक अपराधका घटनामा केही बढोत्तरी भएको छ ।’

‘ईन्टरपोलको सहयोग र समन्वयमा नेपालमा अपराध गरी विश्वका विभिन्न देशमा लुकेर बसेका १७ जनालाई गत वर्ष ईन्टरपोलको सहयोगमा कानूनी दायरामा ल्याइ अपराधीका लागि संसारको कुनै पनि कुना सुरक्षित छैन भन्ने सन्देश दिन प्रहरी सफल भएको छ’, उनले भने, ‘यस वर्ष पनि सात जनालाई कतार र मकाउबाट ल्याएर कानूनी दायरामा उभ्याइसकिएको छ ।’

आईजीपी सिंहले भनेका छन्, ‘लागुऔषध नियन्त्रणमा र कारबाहीलाई तिब्रता दिएकै कारण गत वर्ष ११ हजार ५ सय किलो गाँजा र चरेस, ६९ किलो हेरोइन तथा ५० किलो अफिम बरामद गरी २२१ जना विदेशीसहित ५ हजार ७ सय ८९ जनालाई कानूनी दायरामा ल्याइएको छ । एक वर्षको दौरानमा यो हालसम्मकै ठूलो परिणाममा बरादम हेरोइन हो ।’

‘गत वर्षको राजश्व संकलनको तुलनामा ४३ प्रतिशतले वृद्धि भइ ४ अर्ब १६ करोडभन्दा बढी राज्यको कोषमा राजश्वको योगदान पुर्‍याएका छौँ’, उनले भनेका छन् ।

उनले भने, ‘गत वर्ष प्रहरीले आमनागरिकबाट १९१ रोपनी जमीन दानमा प्राप्त गरेका छौँ । देशभरिबाट गत वर्ष नयाँ इकाईको स्थापना र भएका कार्यालयहरूलाई स्तरोन्नतिका लागि १२८६ अनुरोधहरू प्राप्त भएका छन् ।’

‘धेरै कार्यालय र ब्यारेक भाडामा बस्नुपर्ने बाध्यता छ । कुल ३२ सयभन्दा धेरै ईकाईबाट सेवा प्रदान गर्दै आएको छ’, सिंहले भने ।

‘संयुक्त राष्ट्रसंघमा मिशनमा गत ४ वर्षदेखि रोकिएको नेपाल प्रहरीको एफपीयूको पुनः सहभागिताका सम्बन्धको तयारीलाई नेपाल प्रहरीले तिब्रता दिएको छ’, सिंहले भने, ‘यसबाट हुने ईन्टरनेश्नल एक्सपोजरबाट विशेष गरी तल्लो तहका कर्मचारीहरूको मनोबल उच्च हुनेछ ।’

उनले भने, ‘बढ्दो साईबर स्पेशबाट हुने खराबीलाई समयमा निरुपण गरी राष्ट्रिय सुरक्षा सदृढ गर्ने आवश्यक्ता महशुस गरी लामो समयदेखिको निरन्तर स्वरुप कोरियन सरकारको सहयोगमा कोइकाको प्राजेक्टमा साईबर ब्यूरोको निर्माण कार्यको तिब्रता लिइएको छ ।’

नेपाल प्रहरीले सोमबार नक्सालस्थित हेडक्वाटरमा प्रहरी दिवस भव्य रुपमा मनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आथित्य र गृहमन्त्री बालकृष्ण खाणको विशेष आतिथ्यमा दिवस मनाइएको हो ।

Published : Monday, 2022 October 17, 1:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया