गृहमन्त्री खाणले प्रहरीभित्र अर्को बबाल निर्णय गर्दै, प्रहरी जवानको १६ वर्षे माग पूरा हुने

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रहरी जवानको स्वयच्छिक अवकासको समय १६ बनाउने विषयमा छलफल भइरहेको बताएका छन् ।

सोमबार प्रहरी मुख्यालय नक्सालमा आयोजित ६७औँ प्रहरी दिवस २०७९ का अवसरमा आयोजित विशेष समारोहमा बोल्दै खाणले प्रहरी जवानको स्वयच्छिक सेवाअवधि १६ वर्ष बनाउने विषयमा गृहकार्य भइरहेको बताए । उनले दुबै प्रहरीका आईजीपीहरूसँग सो विषयमा कुराकानी र गृहकार्य भइरहेको बताए ।

प्रहरीका जवानले अवकासको समय लामो रहेको भन्दै छोट्याउन माग गर्दै आएका थिए । गृहमन्त्री खाणले जवानहरूको सो मागप्रति आफ्नो ध्यानलाई केन्द्रित बनाएका छन् । नेपाल प्रहरीको ऐन र नियमावली संशोधन भएमा प्रहरी जवानहरूले १६ वर्षमा स्वयच्छिक अवकासमा जान पाउनेछन् ।

गृहमन्त्री खाणले लामो समयदेखि प्रहरीका कार्यालय सहायक, जवान र साईमा वृद्धि विकासमा देखिएको जामलाई फुकाउने प्रयास गरेको बताए । उनले प्रहरीका वरिष्ठ सई र वरिष्ठ हवल्दारको बढुवाले पनि कार्यसम्पादनमा प्रहरीलाई सहज भएको बताएका छन् ।

गृहमन्त्री खाणले काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण केन्द्रले प्रहरीको कार्यक्षमता र दक्षतामा उल्लेख्य सुधार हुने विश्वास लिएका छन् ।

नेपाली कांग्रेस नेतृत्वको सरकार आउनेवित्तिकै गृहमन्त्री बनेका खाणले नेपाल प्रहरीभित्र सुधारका लागि विभिन्न कदम चालेका छन् । खाणले चालेका कदमले विशेष गरेर सानो दर्जाका प्रहरीलाई फाइदा पुगेको छ ।

खाणले यो निर्णयपछि जवानहरूले निश्चित अवधि संगठनमा उत्साहित भएर काम गरेर बाँकी समय उर्जाशील रहँदै अन्य क्षेत्रमा काम गर्न सक्ने बताएका छन् ।

प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरूले सेवा सुरु गरेको २० वर्षपछि मात्रै पेन्सन पाउने गर्छन् ।

नेपाली सेनामा २९ पुस २०७७ मा नै पेन्सन अवधि १६ वर्ष बनाउने सर्तसहितको निर्णय भइसकेको छ ।

सेनामा १६ वर्षमा पेन्सन लिएर स्वेच्छिक अवकाश रोज्न सकिने भए पनि सुविधा चाहिँ २० वर्षपछि मात्रै लिन पाइने उल्लेख थियो ।

राज्यलाई आर्थिक भार बढ्नेभन्दै पहिले पटक–पटक गरिएको प्रस्ताव अर्थ मन्त्रालयले फर्काइदिने गरेको थियो । मध्यमार्गी बाटो निकालेर पेन्सन अवधि घटाउने निर्णय भएको थियो ।

गृहमन्त्री खाणले प्रहरीमा तल्लो दर्जाका कर्मचारीको मनोबल बढाउन विभिन्न प्रयासहरू भएको बताएका छन् । उनले भने,

‘तल्लो तहमा दर्जा थपेर मनोबल बढाउनेदेखि शान्ति मिसनमा सहभागीको बाटो खोल्ने विषयसम्म छलफलमा छन् ।’

उनले सीमित स्रोत, साधनका बीच प्रहरीले उत्कृष्ट कार्यसम्पादन गरिरहेको बताउँदै धन्यवादसमेत दिएका छन् ।

उनले संसारभरि नै प्रविधिमा नयाँ आयाम थपिएकाले यसबाट प्रहरीलाई पनि चुनौती बढेको बताएका छन् ।

‘बढ्दो चुनौतीको सामना गर्न प्रहरीलाई प्रविधियुक्त बनाएर अन्तर्राष्ट्रियस्तरको तालिम र सीपले अब्बल बनाइनेछ’, उनले भनेका छन् ।

गृहमन्त्री खाणले प्रहरीले कोभिड–१९ भाइरसको रोकथाम र प्रतिकार्यमा गरेको कामप्रति पनि प्रशंसा गरेका छन् ।

Published : Monday, 2022 October 17, 12:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया