दमारगाउँ किशोर–किशोरीको शव फेला, घटनाले शोकमा पर्‍यो दाङ

घोराही । दाङको जंगलमा गाडिएको अवस्थामा किशोर–किशोरीको शव फेला परेको छ ।

तुलसीपुर उप–महानगरपालिका–१३, दमारगाउँको जंगलमा स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका–६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव गाडेको अवस्थामा आइतबार दिउँसो फेला परेको हो ।

घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले शव निकाल्न थालिएको जानकारी दिएका छन् ।

प्रहरीका अनुसार असोज २७ गते रातिदेखि उनीहरू बेपत्ता भएका थिए ।

डीएसपी मल्लले असोज २८ गते आचार्यको हजुरआमा आएर प्रहरीमा नाती हराएको भन्दै खोजी गरिदिन आग्रह गरेकी थिइन् ।

घर परिवारले सुरूमा उनीहरू प्रेममा परी भागेको हुनसक्ने आशंका गर्दै आएका थिए ।

मल्लका अनुसार उनीहरूको हत्यापछि कसैले खाडलमा गाडेको हुनसक्ने बताएका छन् ।

उनीहरू दुबै जना स्थानीय अम्बापुर माविमा कक्षा ९ मा अध्यनरत थिए ।

अधिकारी दमारगाउँमै मामाको घरमा बसेर अध्ययन गर्दै आएका थिए ।

अधिकारीकी आमा र बुवाको छोडपत्र भएका कारण उनीहरू आमासँगै मामा घरमा बस्दै आएको डीएसपी मल्ले बताएका छन् ।

जंगलमा बस्तु चराउन गएका स्थानीयले गन्ध आएपछि नियालेर हेर्दा खाडलमा गाडेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थल तुलसीपुर बजारदेखि झन्डै १३ किलो मिटर दक्षिणमा र प्रहरी चौकी कौवापुरको केही पूर्वतर्फ पर्छ ।

घटनाबारे अनुसन्धान जारी रहेको डीएसपी मल्ले बताएका छन् ।

Published : Sunday, 2022 October 16, 4:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया