कांग्रेसमा शिक्षकहरूका जन्मदाता गोविन्दले रामचन्द्रसँग यसरी बदला लिने छन्

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमन्त्री गोविन्दराज जोशी मिल्न सक्दैनन् ।

पौडेल र जोशी तनहुँ–१ बाट उम्मेदवार बनेका छन् । उनीहरूले एकले अर्कालाई सिध्याउन सधैँ तिकडम गरेका छन् ।

नेता पौडेलको दवावका कारण जोशीलाई कांग्रेसबाट निष्काशन गरिएको छ । जोशीलाई कांग्रेसबाट निकाले पनि कांग्रेसका कार्यकर्ताले भुल्न सकिरहेका छैनन् ।

पौडेल र जोशी एकअर्काप्रति निकै अनुदार मानिन्छन् । पौडेलले जोशीलाई पार्टीबाट निकालेर प्रतिस्पर्धीको जरै फालेको अनुभव गरेका छन् । तर, जोशीलाई साथमा राखेको भए पौडेललाई सजिलो हुने थियो । त्यो सहजता पौडेलले जोशीलाई कारबाही गर्न बाध्य बनाएर गुमाएका छन् ।

सत्तागठबन्धनका कारण जित्ने आशा पौडेलले लिएका छन् । पौडेलले तनहुँबाट पाँच पटक चुनाव जितिसकेका छन् । उनी गत चुनावमा पराजित भएका थिए ।

पौडेल २०७४ को निर्वाचनमा तत्कालीन एमालेका नेता कृष्णकुमार श्रेष्ठसँग ६ हजार ८ सय मताको अन्तरले पराजित भएका थिए ।

पौडेलको क्षेत्रबाट एमालेका नेता एकबहादुर रानाले पनि प्रतिस्पर्धा गर्न लागेका छन् । राना पनि बलियो उम्मेदवार मानिन्छन् ।

पौडेल सांसद बनेर प्रधानमन्त्री बन्ने सपना देखिरहेका छन् । पौडेलको सपनालाई जोशीले चकनाचुर बनाउने पक्षमा छन् । पौडेल र जोशीको लडाइँमा एमालेका रानालाई हुने हो कि भन्ने ठूलो आशंका छ ।

जोशी कम्युनिस्ट विरोधी नेता हुन् । विगतमा शिक्षामन्त्री भएका बेला देशभरिका शिक्षकहरूलाई कांग्रेस समर्थक बनाउनुमा जोशीको ठूलो हात छ ।

२०४८ सालभन्दा अगाडि कांग्रेसका निकटका शिक्षकहरू निकै कम थिए । जोशीले नै कांग्रेसलाई बलियो बनाउन शिक्षकहरू धेरै बनाएका थिए ।

Published : Sunday, 2022 October 16, 12:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया