सत्तागठबन्धनलाई मतदान गर्न लुम्बिनी कांग्रेसका उपसभापति खनालको अपील, जितेर दाङ-२ कब्जा गर्ने

घोराही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उप–सभापति राजु खनालले सत्तागठबन्धनका उम्मेदवारहरूलाई मतदान गरेर विजयी बनाउन अपील गरेका छन् ।

दाङ–२ ‘क’बाट प्रदेशसभातर्फ उम्मेदवार बनेका खनालले गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरेका हुन् । उनले मुलुकको विकास र उन्नति कांग्रेसले मात्रै गर्न सक्ने बताएका छन् ।

तत्कालीन समयमा जनताले विभिन्न दलहरूलाई झण्डै दुईतिहाई मत दिएर सत्तामा पुर्‍याएको स्मरण गर्दै ती दलहरूबाट देशले पार पाउन नसकेपछि कांग्रेसले नेतृत्व लिनुपरेको बताए ।

उप–सभापति खनालले कांग्रेस र सत्तागठबन्धनका दलहरूलाई जिताएमा राजनीतिक स्थायित्व आउने बताए ।

दाङ–२ ‘क’मा प्रदेशतर्फ प्रत्यक्षमा मनोनयन दर्ता गराएका खनालले आफ्नो प्रचार–प्रसारलाई तिब्र बनाएका छन् ।

खनालले आफ्नो चुनावी प्रचारमा विकास र जनताको समस्यालाई मात्रै उठाएका छन् । उनले जनताको इच्छाअनुसार काम गर्ने चुनावी कार्यक्रमहरूमा प्रतिवद्धता जनाएका छन् ।

दाङ–२ मा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा प्रतिनिधि सभातर्फ उम्मेदवार बनेकी छिन् । शर्मा लोकप्रिय नेतृ हुन् ।

दाङ–२ ‘ख’मा कांग्रेसका नेता प्रचण्डबिक्रम न्यौपाने उम्मेदवार बनेका छन् ।

समग्रमा दाङ–२ मा प्रतिनिधि सभा र प्रदेश सभाका दुबै सिट सत्तागठबन्धनले कब्जा गर्ने रणनीतिमा छन् ।

सत्तागठबन्धनले आफूलाई कसिलो बनाएर लगेका छन् । उनीहरूले विपक्षी उम्मेदवारहरूका हरेक रणनीतिलाई काउन्टर दिइरहेका छन् ।

Published : Saturday, 2022 October 15, 1:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया