काठमाडौंभित्रका गुण्डाहरूलाई तह लगाउन आईजीपी सिंहको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालय र मातहतका कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभाहलमा सिंहले निर्देशन दिएका हुन् । उनले काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्ष र सीसीटीभी मनिटरिङ कक्षको अवलोकन समेत गरेका छन् ।

सिंहले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विभिन्न असन्तुष्ट पक्षले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले आ–आफ्नो ईलाकाको सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै आवश्यक कार्ययोजना बनाई सुरक्षा व्यवस्था मजवुत बनाउन निर्देशन दिएका छन् ।

उनले निर्वाचनको सुरक्षा संवेदनशील विषय भएकोले आपराधिक घटना रोकथाम तथा न्यूनीकरणका लागि सुरक्षा योजनाअनुसार सर्च अपरेशन बढाई गुण्डागर्दी, घरेलु हतियारको प्रयोग, डान्सबार तथा क्लवहरू लगाएतमा हुन सक्ने ग्याङफाइटहरूलाई पूर्णरूपमा नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

काठमाडौं उपत्यकाको प्रहरी देशकै रोल मोडेलको रुपमा रहेकाले प्रहरीको आचरण तथा व्यवहारमा उत्कृष्ट ढंगले प्रदर्शन गरी सवै सेवाग्राहीलाई समान व्यवहार गर्न पनि उनले निर्देशन दिएका छन् ।

गुण्डा गर्दी लगायतका विभिन्न आपराधिक गतिविधिहरूप्रति प्रहरीले कठोर भई सबैलाई कानूनी दायरामा ल्याउनु पर्ने बताउँदै संगठन र विभागीय नीति बमोजिम कानून सम्वत ढङ्गबाट सम्पादित प्रहरी कारवाहीको जिम्मेवारी आफूले लिने भन्दै निर्धक्क भएर उच्च मनोवलका साथ कार्य गर्न समेत उनले निर्देशन दिएका छन् ।

उनले प्रहरी कर्मचारीहरूलाई आर्थिक प्रलोभनमा परी गर्न सक्ने नाजायज कार्य क्षम्य नहुने र कठोर कारवाही गरिने बताएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्रबहादुर धानुकले समसामयिक विषयमा प्रहरी महानिरीक्षक सिंहले उपत्यकाका कार्यालय प्रमुखहरूलाई दिएको निर्देशनलाई अक्षरंस पालना गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।

निर्वाचनलाई सफल बनाउन उपत्यका निर्वाचन सेल र जिल्ला निर्वाचन सेलले कार्य गरीरहेको जानकारी दिनुका साथै आर्थिक पारदर्शिता, महिला हिंसा, यौनजन्य हिंसामा शून्य सहनशीलतामा प्रहरी कारवाहीलाई अगाडि बढाउन आग्रह गरेका छन् ।

उनले कमी कमजोरीलाई सुधार गर्दै बोली, वचन र व्यवहारमा शिष्टता र नम्रता अपनाई कानून कार्यान्वयन गर्न प्रहरी महानिरीक्षकबाट समय समयमा भएका निर्देशन पालना गरिरहेको र मातहत समेतमा आवश्यक निर्देशन दिइने गरेको उनले बताएका छन् ।

Published : Friday, 2022 October 14, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया