कांग्रेस नेता अंगत र झापाका हरिबीच विवादको यस्तो हो बास्तविक कुरा

काठमाडौं । नेपाली कांग्रेसका नेता अंगतकुमार जोशीले निर्वाचनको समयमा आफ्नो चरित्र हत्या हुने कार्य भएको भन्दै चिन्ता जनाएका छन् ।

शुक्रबार रिपब्लिका दैनिकसँग कुरा गर्दै जोशीले राजनीतिक पूर्वाग्रह राखेर केही तत्वको उक्साहटमा हरि कटुवालले मिडियाबाजी गरेर बदनाम गरेको बताए । उनले भने, ‘झापा घर भएका हरि कटुवालसँग मेरो आन्तरिक रुपमा आर्थिक लेनदेन थियो । त्यो लेनदेनलाई मिलाउने सहमति भएको थियो । मेरो जग्गा बिक्री हुन नसकेका कारण पैसा दिन सकेको थिएन ।’

हरि कटुवालले कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता गोपालमान श्रेष्ठ, प्रकाशमान सिंहलगायतसँग जोडेर आफ्नो बदनाम गरेको भन्दै भर्त्सना गरेका छन् । जोशीले भने, ‘म र कटुवालबीच भएको आन्तरिक आर्थिक लेनदेनको विषयमा कांग्रेसका कुनै पनि नेताहरूसँग सम्बन्धित छैन ।’

कांग्रेस नेता जोशीले आफू र कटुवालबीच कोरोना महामारीभन्दा अगाडि नै आर्थिक लेनदेन भएको बताए । ‘म र कटुवालबीच कोरोना महामारीको लकडाउनभन्दा अगाडि आर्थिक लेनदेन भएको हो’, उनले भने, ‘मैले नेताहरूसँग तस्बिर खिचेको ४/५ महिना भएको छ । त्यो पनि आमाको डकुमेन्ट्री बनाउने क्रममा खिचिएको तस्बिरहरू हुन् । हरि कटुवालले ती तस्बिरलाई फेसबुकबाट तानेर मेरो अनुमतिविना मिडियाबाजी गरेर दुरुपयोग र मानहानी गर्नुभएको छ ।’

‘हरि कटुवाललाई मैले ठगी गर्ने उदेश्य राखेको छैन । राखेको थिएन’, जोशीले भने, ‘अहिले पनि मेरो जग्गा बिक्री गर्न खोजेको छ । जग्गा बिक्री हुनेवित्तिकै उहाँलाई रकम दिन्छु । मेरो जग्गाको मूल्य गरेर आफ्नो रकम कटाएर बाँकी रकम मलाई फिर्ता गर्न कटुवाललाई प्रस्ताव पनि छ ।’

काठमाडौंको चाबहिल घर भएका एकजना श्रेष्ठ थर भएका व्यक्तिले जोशी र कटुवाललाई भेट गराएका थिए । त्यस बेला नै जोशीले झापातिरका मानिसले दुःख दिन्छ, कारोबार नगरौँ भनेर भनेको स्मरण गरेका छन् । नभन्दै झापाका कटुवालले जोशीलाई चेकबाउन्समा प्रहरी हिरासतसम्म पुर्‍याएर आफै निकालेका छन् ।

नेता जोशीले कांग्रेसमा प्रतिनिधि सभातर्फ समानुपातिकमा टिकट मागेका थिए । सोही समयमा कटुवालले जोशीविरुद्ध मिडियाबाजी गरेर बदनाम गरिदिएपछि टिकट पाएनन् ।

जोशीको पुर्ख्यौली घर पर्वतमा पर्छ । हाल चितवनमा घर रहेका जोशी कांग्रेसका पुराना नेता पनि हुन् । कांग्रेसका विभिन्न पदमा बसेर काम गरेका जोशीका बुबा पर्वत कांग्रेसका जिल्ला सभापति पनि थिए ।

जोशीले कटुवाललाई काम गर्दा लागेको रकम कटाएर आफूसँग लिनुपर्ने रकम लिन पनि प्रस्ताव गरेका थिए । तर, कटुवालले १७ लाख नै चाहिन्छ भनेर अडान राखेका थिए । जबकि जोशीले आफ्नो हातमा ९ लाख मात्रै परेको बताएका छन् । त्यस बेला जोशीले कटुवाललाई १७ लाखको चेक दिएका थिए । कटुवालले चेक बाउन्स गरेर जोशीलाई थुनाए ।

पति र पत्नी मिलेर जोशीलाई कटुवालले न्यायाधीशका अगाडि सबै रकम बुझेँ भनेर छुटाए । जोशी र कटुवालबीच जोशीको जग्गा बिक्री गरेर आर्थिक कारोबार मिलाउने आन्तरिक सहमति पनि थियो । तर, कांग्रेसको टिकट वितरण हुने बेला कटुवाल नेता जोशीविरुद्ध मिडियाबाजी गर्न पुगे । अहिले पनि जोशीले कटुवाललाई रकम दिने बताइरहेका छन् ।

जोशीले कटुवाललाई बीचमा ८५ हजार पनि फिर्ता गरेका थिए । कटुवालले १८ लाख दाबी गरिरहेका छन् । पैसा नतिर्ने जोशीको मनसाय होइन । उनीसँग रकम नभएर तथा जग्गा बिक्री हुन नसकेकै कारण समय र परिस्थितिले बाध्यताबस यो अवस्थामा लगेको छ ।

Published : Friday, 2022 October 14, 6:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया