रेशमको पार्टीमा पार्वती प्रवेश, समानुपातिकमा नाम

काठमाडौं । नेपाली कांग्रेसकी पूर्व केन्द्रीय सदस्य पार्वती डिसी चौधरी ‘नागरिक उन्मुक्ति पार्टी’को समानुपातिक सूचीमा परेकी छिन् ।

निर्वाचनको मुखमा कांग्रेस छाडेकी नेतृ डिसीलाई खस आर्य महिलाको सूचीमा उन्मुक्ति पार्टीले राखेको छ । टीकापुर काण्डमा जेलमा सजाय भोगिरहेका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको समानुपातिकमा परेपछि डिसीले भोट पनि मागेकी छिन् ।

नेतृ डिसी कांग्रेसबाट केन्द्रीय सदस्य र दुई पटक प्रतिनिधि सभाको सांसद बनेकी थिइन् । दाङबाट कांग्रेसमा धेरै अवसर पाउने नेतृको सूचीमा उनको नाम आउँछ ।

शुक्रबार फेसबुकमा स्टाटस लेखेर नेतृ डिसीले भनेकी छिन्, ‘कांग्रेसमा बस्न आवश्यक देखिन । अब यो मुलुकमा कांग्रेसको आवश्यकता पनि छैन ।’

‘म पार्वता डिसी चौधरी नेपाली कांग्रेस छाडेको छु’, उनले भनेकी छिन्, ‘मैले सदनमा पनि भनेकि थिएँ ।’

‘राजनीतिककर्मी हुँ कुनै न कुनै पार्टीमा आबद्ध हुनु प¥यो भनेर मैले धेरै कुरा सोँचे’, उनले भनेकी छिन् ।

‘म क्षेत्रीकि छोरी चौधरी परिवारमा विवाह गरेँ’, नेतृ डिसीले भनेकी छिन्, ‘एउटा निर्दोष होनहार बुद्धिजीवी युवालाई टीकापुरको काण्डका दोषी देखाई कारागारमा थुनेको छ’, उनले भनेकी छिन् ।

डिसीले भनेकी छिन्, ‘मेरो जीवनको अन्तिमक्षणसम्म रेशम चौधरीलगायत अन्यायमा परेका सबैको न्यायको लागि लडिरहने प्रण गर्दै म नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको जानकारी गराउन चाहान्छु ।’

Published : Friday, 2022 October 14, 11:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया