कांग्रेस छाड्नेवित्तिकै ओलीद्धारा बालकोटमा उपेन्द्रलाई भव्य स्वागत, सिट संख्यामा कुरा मिल्यो

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी नेपाल (जसपा) र एमालेबीच गठबन्धन गर्ने सहमति भएको छ ।

दुबै दलका शीर्ष र दोस्रो तहका नेताहरुबीच भएको वार्तामा जसपालाई २२ देखि २४ सिट दिने सहमति भएको छ ।

जसपाले मधेश प्रदेशमा १६ सिट पाउनेछ । अन्य प्रदेशहरुमा जसपालाई ८ सिट दिन एमाले तयार भएको छ ।

पाँच दलीय गबन्धनको बैठक छाडेर जसपाका अध्यक्ष उपेन्द्र यादव एमालेसँग वार्ता गर्न गएपछि २४ सिट पाएका हुन् । पाँच दलीय गठबन्धनमा जसपालाई करीव १५ सिट दिइएको थियो ।

एमालेका नेताहरुले जसपालाई २२ सिट दिन तयार देखिएका छन् । तर, जसपाले २४ सिटभन्दा तल नझर्ने अडान राखेको छ ।

बारा जिल्लाको क्षेत्र नं. २ मा एमाले र जसपाले दाबी गरेका छन् । जसपाले बारा क्षेत्र नं. २ मा नेता रामसहाय यादवलाई उम्मेदवार बनाउन चाहेको छ । एमालेले माओवादी छाडेर आएकी नेतृ ज्वाला साहलाई उम्मेदवार बनाउन खोजेको छ ।

धनुषाको क्षेत्र नं. २ मा एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर आएका उमाशंकर अरगरियालाई उम्मेदवार बनाउन चाहेको छ । यो क्षेत्रमा जसपाले पनि दाबी गरेको छ ।

बाँकेको क्षेत्र नं. २ एमालेले राप्रपासँग चुनावी तालमेल गर्ने सहमति गरिसकेको छ । यो क्षेत्रबाट राप्रपाका महामन्त्री धवलशमशेर राणा उम्मेदवार बन्न लागेका छन् ।

जसपाले बाँकेको क्षेत्र नं. २ बाट नेता मो. ईस्तियाक राईलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

कांग्रेस नेतृत्वको गठबन्धनको विरोध गर्दै आएका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले जसपालाई बोलाएर रातोकार्पेट बिच्याएर स्वागत गरेका छन् । बालकोटमा जसपाका अध्यक्ष यादवलाई ओलीले भव्य स्वागत गरेका छन् ।

Published : Friday, 2022 October 7, 1:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया